अन्तिम चरणमा भरतपुरको भूमिगत विद्युत् आयोजना, असोजभित्रै पूर्ण सञ्चालनमा ल्याइने

अन्तिम चरणमा भरतपुरको भूमिगत विद्युत् आयोजना, असोजभित्रै पूर्ण सञ्चालनमा ल्याइने

काठमाडौं। चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यका साथ अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको तीव्र कार्यान्वयन र सरोकारवाला निकायहरूबीचको प्रभावकारी समन्वयका कारण लामो समयदेखि अल्झिएका यी आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन्।

भरतपुरमा सञ्चालित ‘पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना’अन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केबल प्रणालीमा विद्युत् 'चार्ज' गर्ने काम सुरु भइसकेको छ भने हालसम्म करिब ३ सय ग्राहकका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान भइसकेको छ। समग्रमा आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ।

भरतपुर महानगरपालिकाको ६ लेन सडक तथा बाइपास सडक आसपासका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण सञ्जाल विस्तार गरिएको छ, जसबाट करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा छ।

हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोक, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्मको क्षेत्रमा भूमिगत प्रणालीमार्फत विद्युत् वितरण सुरु भइसकेको छ।

यसैगरी आँपटारी-केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल-पुलचोक, आँपटारी–पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि नहर क्षेत्रसम्म भूमिगत केबल विस्तारको काम सम्पन्न भइसकेको छ।

यस आयोजनाअन्तर्गत बाइपास सडकको दुवैतर्फ करिब ९ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म ८ किलोमिटर ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंक (ADB) को साझेदारीमा सञ्चालित यस आयोजनामा करिब ३ अर्ब रुपैयाँ लगानी भइरहेको छ।

आगामी असोजभित्र सम्पूर्ण भूमिगत वितरण प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यो प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने, हावाहुरी तथा प्राकृतिक प्रकोपबाट हुने क्षति कम हुने, दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यमा उल्लेख्य सुधार आउने विश्वास लिइएको छ।

यसैगरी भरतपुरका लागि अर्को महत्वपूर्ण उपलब्धि स्वरूप 'मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना'अन्तर्गत मार्कीचोक-भरतपुर खण्डको पहिलो सर्किट सञ्चालनमा आएको छ।

गत असार २७ गतेदेखि नियमित रूपमा विद्युत् प्रवाह सुरु गरिएको उक्त लाइनमार्फत हाल करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। मनाङ, लमजुङ र दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने उद्देश्यले निर्मित यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १ हजार ६ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता विकास हुनेछ।

स्थानीय विवाद, वन क्षेत्रको रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा प्राविधिक जटिलताका कारण वर्षौंदेखि रोकिएको यो आयोजनालाई गति दिन ऊर्जा मन्त्री श्रेष्ठले विशेष चासो दिएका थिए।

असार पहिलो साता मन्त्री श्रेष्ठ स्वयं आयोजना स्थल पुगेर स्थानीय तह, जिल्ला प्रशासन, विद्युत् प्राधिकरण, सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गराएपछि निर्माणका अवरोध हटेका थिए।

पहिलो सर्किट सञ्चालनसँगै 'न्यू मस्र्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन' राष्ट्रिय प्रसारण सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको छ। अब मस्र्याङ्दी र दोर्दी नदी बेसिनका आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबरलगायत राष्ट्रिय २२० तथा ४०० केभी प्रसारण सञ्जालमा सहजै प्रवाह गर्न सकिनेछ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार भूमिगत वितरण प्रणाली र मस्र्याङ्दी करिडोर प्रसारण लाइनको यो समानान्तर प्रगतिले भरतपुरको विद्युत् सेवा सुधार गर्नुका साथै राष्ट्रिय प्रसारण प्रणालीलाई थप आधुनिक, सुरक्षित र भरपर्दो बनाउनेछ। यसले आन्तरिक खपत विस्तार र भविष्यको क्षेत्रीय विद्युत् व्यापारका लागि समेत बलियो आधार खडा गरेको छ।

छुटाउनुभयो कि ?