काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन र आर्थिक विश्वास पुनःस्थापना गर्न बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन्।
'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँगको छलफलमा उनले देशको उत्पादन, लगानी, बचत र वित्तीय प्रणालीको केन्द्रमा बैंकिङ क्षेत्र रहेकाले बजारको वास्तविक मनोविज्ञान र लगानीकर्ताको अपेक्षाबारे यो क्षेत्र सबैभन्दा बढी जानकार रहेको धारणा राखे।
सरकारले बजेटमार्फत आर्थिक रूपान्तरणका स्पष्ट नीति तय गरिसकेकाले अबको मुख्य प्राथमिकता तिनको प्रभावकारी कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आउने व्यावहारिक सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरिने स्पष्ट पारे।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले वित्तीय प्रणालीमा देखिएका असमञ्जसताहरूबारे बैंकका सिइओहरूसँग खुला धारणा मागेका थिए। विशेष गरी ऐतिहासिक रूपमा ब्याजदर न्यून हुँदा र बैंकिङ प्रणालीमा पर्याप्त तरलता छदा पनि कर्जाको माग किन बढ्न सकेको छैन तथा लगानीकर्ताहरू नयाँ लगानीका लागि किन हिच्किचाइरहेका छन् भन्ने विषयमा उनले गम्भीर प्रश्न उठाए।
यो समस्याको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कुन पक्षसँग बढी जोडिएको छ भन्नेबारे स्पष्ट पार्दै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संस्थागत, कानुनी र नियामकीय सुधारका लागि सुझाव दिन उनले आग्रह गरे।
बैठकलाई केवल समस्या पहिचानमा मात्र सीमित नराखी समयसीमा र स्पष्ट जिम्मेवारीसहितको कार्यान्वयनयोग्य निष्कर्षमा पुर्याउने लक्ष्य सरकारको रहेको उनले बताए।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउन आवश्यक परे सरकार जुनसुकै नीतिगत वा कानुनी सुधार गर्न तयार रहेको प्रतिबद्धता उनले जनाए। सरकार र बैंकिङ क्षेत्रको सम्बन्ध नियमनमा मात्र सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीमा आधारित रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि बैंकहरूलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनेर अघि बढ्न आह्वान गरे।