पुराना दलकै पदचापमा बालेन: 'नयाँ' को नाराभित्र हराउँदै वैचारिक स्पष्टता

पुराना दलकै पदचापमा बालेन: 'नयाँ' को नाराभित्र हराउँदै वैचारिक स्पष्टता

काठमाडौँ। नेताहरू जब सत्ता र राजनीतिको केन्द्रमा पुग्छन्, तब उनीहरूको वैचारिक स्पष्टता कसरी धमिलिन्छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ बालेन (वालेन्द्र साह) नेतृत्वको सरकार।

सुशासन, डेलिभरी र नयाँ सोचको आशामा पुराना राजनीतिक दलहरूसँग वाक्क भएका जनताले बालेन र उनको टोलीलाई ठूलो विश्वासका साथ मत दिएका थिए। तर, संविधान संशोधन र मुलुकको आगामी दिशाका सवालमा बालेनको टोलीले लिएको नीति र अडानलाई लिएर अहिले गम्भीर प्रश्नहरू खडा भएका छन्।

बालेनको उदय कुनै परम्परागत वैचारिक क्रान्तिबाट भएको थिएन; यो त पुराना दलहरूको भ्रष्टाचार, नातावाद र कुशासनप्रतिको चरम जनआक्रोशको प्रतिफल थियो। नगरप्रमुख छँदा सडकका खाल्डा पुर्ने वा डोजर चलाउनेजस्ता काममा पाएको जनसमर्थन राष्ट्रिय राजनीतिमा पुगेपछि शासकीय सिद्धान्त र संविधानप्रतिको स्पष्ट दृष्टिकोणमा परिणत हुन सकेको छैन।

यदि न त संघीयता खारेज हुने, न राजसंस्था वा हिन्दूराष्ट्र नै फर्किने हो र घुमीफिरी २०७२ को संविधानकै बाटोमा हिँड्ने हो भने पुराना दलहरूभन्दा नयाँ शक्तिको भिन्नता कहाँ छ भन्ने प्रश्न जन्मिएको छ। अहिले बालेनको टोलीले ल्याउन खोजेको रूपान्तरण केवल शब्दावलीको फेरबदल र पुराना दलहरूकै शैलीको पुनरावृत्ति मात्र देखिन्छ।

संविधान संशोधनको बहसमा बालेनको नीति न त पूर्ण परिवर्तनको पक्षमा छ, न त स्पष्ट परम्परागत अडानमै उभिन सकेको देखिन्छ। प्रदेश संरचना खारेज नगर्ने तर त्यसलाई 'अधिकारमुखी' बनाउने अमूर्त कुरा र प्रत्यक्ष निर्वाचित कार्यकारीको नारा दिए पनि कार्यान्वयनमा अलमल देखिएको छ।

अर्कोतर्फ, हिन्दूराष्ट्रको मागलाई उपेक्षा गर्दै र धर्मनिरपेक्षताको इमानदार पालना गर्नुको साटो मौसमी धार्मिकतामै अल्झिएको टिप्पणी हुन थालेको छ। न त राजावादी र हिन्दू राष्ट्रवादीहरूलाई सम्बोधन गर्न सक्नु, न त संघीयता विरोधीहरूलाई नै सन्तुष्ट पार्न सक्नु-दुवै किनारलाई छुने तर कतै नअडिने यो त्रिशंकु राजनीतिले गर्दा बालेनको नीति न यता न उताको अवस्थामा पुगेको विश्लेषकहरू बताउँछन्।

जनताले बालेन र नयाँ पुस्तालाई प्रणालीगत परिवर्तन र प्रदेश सभाको भद्दा खर्चजस्ता अनुत्पादक ढाँचामाथि प्रहार गर्न भोट दिएका थिए। तर, धर्मनिरपेक्ष गणतन्त्र र समाजवादउन्मुख अर्थतन्त्रकै परिधिभित्र घुमेर राजनीति गर्ने हो भने यो नेपाली जनतामाथि गरिएको अर्को राजनीतिक धोका साबित हुने जोखिम छ। सडक सफा गर्नु वा सामाजिक सञ्जालमा कडा टिप्पणी गर्नु र देशको संविधान एवं व्यवस्था सञ्चालन गर्नु पूर्णतः फरक कुरा हुन्।

यदि अस्पष्टता र मध्यमार्गी पपुलिजम्को राजनीति जारी रहेमा नयाँ शक्तिहरूप्रति जनताको मोहभङ्ग हुन धेरै समय लाग्ने छैन। त्यसैले बालेन र उनको टोलीले आफूहरू साँच्चिकै नयाँ विचारका वाहक हुन् वा पुरानाकै नीतिका नयाँ सञ्चालक मात्र हुन् भन्ने कुरा समयमै स्पष्ट पार्नु आवश्यक देखिन्छ।

छुटाउनुभयो कि ?