काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समितिको बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो।
बैठकले पार्टी विधानबमोजिम सभापति लामिछानेको नेतृत्वमा आठ सदस्यीय ‘पार्टी सचिवालय’ समेत गठन गरेको छ। सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
पार्टीका पछिल्ला निर्णयहरूबारे जानकारी दिँदै रास्वपाले प्रथम महाधिवेशनको समीक्षा गर्नुका साथै आगामी साङ्गठनिक तथा रणनीतिक योजनाहरूसहित ११ बुँदे निर्णय सार्वजनिक गरेको छ।
‘क्यान्डिडेट क्लब’ र मन्त्रीहरूसँग संवाद
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रास्वपाले भाद्र १ गतेदेखि योग्य र सक्षम उम्मेदवार छनोटका लागि 'क्यान्डिडेट क्लब'को आवेदन खुला गर्ने निर्णय गरेको छ। यसैगरी, सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूसँग अनिवार्य प्रत्यक्ष संवाद गराइने भएको छ।
पार्टीका विभागहरूको नेतृत्व लिन इच्छुक केन्द्रीय सदस्य तथा सांसदहरूबाट स्पष्ट लक्ष्यसहितको ६ महिने कार्ययोजना माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
नागरिक सहजीकरण र सामाजिक सञ्जाल निर्देशिका
नागरिकका गुनासो सुन्न र सहजीकरण गर्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी प्रतिनिधिहरूको अनिवार्य दैनिक उपस्थितिको व्यवस्था मिलाइएको छ। जसअनुसार केन्द्रीय र प्रदेश कार्यालयमा दुई-दुई जना र जिल्ला कार्यालयमा एक जना नेता दैनिक उपस्थित हुनेछन्।
यस्तै, सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै पार्टीका सदस्यहरूलाई आत्महत्या वा आत्मदाह जस्ता दुःखद घटना तथा समाचार सामाजिक सञ्जालमा सेयर नगर्न कडा निर्देशन जारी गरिएको छ।
बैठकले आगामी ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ भव्यताका साथ मनाउन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ। साथै, सुनसरीलगायतका जिल्लाहरूमा भएका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।