विद्युत प्राधिकरणको स्पष्टीकरण: साउनअघिको विद्युत खपतमा भ्याट नलाग्ने, तिरिसकेको रकम भदौको बिलमा समायोजन हुने

विद्युत प्राधिकरणको स्पष्टीकरण: साउनअघिको विद्युत खपतमा भ्याट नलाग्ने, तिरिसकेको रकम भदौको बिलमा समायोजन हुने

काठमाडौं।नेपाल विद्युत प्राधिकरणले महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी सिर्जना भएको अन्योल स्पष्ट पार्दै असार मसान्तसम्मको विद्युत खपतमा भ्याट नलाग्ने जनाएको छ। साथै, साउन महिनाको बिलमार्फत ग्राहकले तिरिसकेको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन (एडजस्ट) गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूलाई आर्थिक ऐन बमोजिम भ्याट समायोजनबारे जानकारी गराएको हो।

आर्थिक ऐन अनुसार विद्युत सेवामा भ्याट लागू हुने व्यवस्था बमोजिम नेपाल विद्युत प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको थियो। त्यसपश्चात् जारी गरिएका मासिक विद्युत महसुल बिलहरूमा नियमानुसार भ्याट रकम समावेश गरी असुल गर्न थालिएको थियो।

तर, २०८३ असार ३२ गतेसम्म खपत भएको विद्युतको बिल साउन १ गते वा त्यसपछि मात्रै जारी भए तापनि साउन १ गतेअघिको खपतमा भ्याट नलाग्ने प्राधिकरणले जनाएको छ। आर्थिक ऐन, २०८३ को अनुसूची—१ समूह २ अन्तर्गत असार मसान्तसम्मको विद्युत शक्तिलाई 'आवश्यक वस्तु'का रूपमा समावेश गरिएकाले सो अवधि सम्मको खपतमा भ्याट छुट हुने प्रावधान रहेको छ।

यसअघि साउनको बिलमा असार महिनाको खपतको समेत भ्याट जोडिएर आएपछि ग्राहकहरूमाझ अन्योल र असन्तोष पैदा भएको थियो। प्राधिकरणको यो निर्णयसँगै असारसम्मको विद्युत खपतमा ग्राहकले तिरिसकेको भ्याट रकम भदौको बिलमा घटाएर हिसाब मिलाइनेछ।

छुटाउनुभयो कि ?