रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडाइ, संसदीय दलको अन्तिम स्वीकृति अनिवार्य

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडाइ, संसदीय दलको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन नयाँ आन्तरिक निर्देशन जारी गरेको छ।

राज्यकोषबाट उपलब्ध गराइने सुविधाको उच्चतम् सदुपयोग सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई मितव्ययी, जनउत्तरदायी र प्रतिस्पर्धी बनाउने उद्देश्यले पार्टीले आफ्ना सबै सांसदहरूका लागि यो निर्देशन लागू गरेको हो।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिर रहेर मात्र स्वकीय सचिव चयन गर्नुपर्ने स्पष्ट पारिएको छ। यसका लागि प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको सिद्धान्त तथा मूल्य-मान्यताप्रति निष्ठावान् व्यक्तिहरूलाई प्राथमिकता दिन सांसदहरूलाई भनिएको छ।

यसैगरी, नियुक्ति प्रक्रियामा समावेशीतालाई प्रोत्साहन दिन, दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्टरेस्ट) अवस्था नरहेका उम्मेदवार मात्र छनोट गर्न निर्देशन दिइएको छ।

सांसदहरूले आफैँ वा प्रतिस्पर्धात्मक माध्यमबाट योग्य उम्मेदवार छनोट गरे तापनि औपचारिक नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। राज्यको कोष प्रयोग हुने भएकाले पार्टीका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्ने विषयमा महामन्त्री आचार्यले विशेष जोड दिएका छन्।

छुटाउनुभयो कि ?