करदातालाई खुसी पारेर 'मिसन १६ खर्ब' को लक्ष्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

करदातालाई खुसी पारेर 'मिसन १६ खर्ब' को लक्ष्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई दपेटेर वा त्रसित बनाएर नभई सहजीकरण गर्दै खुसी पारेर कर असुली गर्न कर प्रशासकहरूलाई कडा निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर प्रशासनलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आग्रह गरेका हुन्।

"करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्," कर अधिकृतहरूलाई निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले भने, "मैले बजारमा कर प्रशासनमा ठूलो सुधार भएको, कर तिर्न बोझ नभएको र कोही पनि त्रसित नभएको सुन्न पाउनुपर्छ।" उनले जबरजस्ती र डर देखाएरभन्दा पनि स्वेच्छिक कर अनुपालनमार्फत नागरिकलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

करदाता त्रसित भएर भाग्ने वा लुक्ने स्थिति सिर्जना हुन नदिन आग्रह गर्दै अर्थमन्त्रीले कर प्रशासनको सुदृढीकरणका लागि आवश्यक जनशक्ति, पूर्वाधार र सूचना प्रविधिको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उत्कृष्ट कार्यसम्पादन गरी राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गरिने र वृत्तिविकासमा विशेष प्राथमिकता दिइने स्पष्ट पार्दै उनले सरुवा-बढुवाका लागि अनुचित भनसुन (सोर्सफोर्स) नलगाउन चेतावनी समेत दिए।

"करदाता खुसी हुनुपर्यो, कर उठाउनेले सहजीकरण गर्नुपर्यो र राजस्वको लक्ष्य पनि पूरा हुनुपर्यो। मिसन १६ खर्बमा आन्तरिक राजस्वको भागको लक्ष्य अनिवार्य हासिल हुनुपर्छ," उनले भने। चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रको दिशा मोडेको दाबी गर्दै आगामी चार वर्षभित्र सरकारले परिकल्पना गरेको सबल अर्थतन्त्रको जग स्पष्ट देखिने उनले दाबी गरे।

यस्तै, बजेटमार्फत ल्याइएका छुट योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न, करदाता प्रोत्साहन र सचेतना अभिवृद्धि गर्न तथा सबै प्रकारका कारोबारलाई डिजिटल बनाउन उनले विभागीय नेतृत्वलाई निर्देशन दिए।

मुलुकलाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न मन्त्रालयले तीव्र पहल गरिरहेको उल्लेख गर्दै उनले वित्तीय अपराध र कर छलछामसम्बन्धी विषयलाई मिहीन ढङ्गले अनुगमन गर्न कर प्रशासकहरूलाई सचेत गराए।

छुटाउनुभयो कि ?