न्यु जर्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन्।
स्पेन र अर्जेन्टिनाबीच हुने बहुप्रतीक्षित उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई विश्वकपको ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको छ।
न्यु जर्सीमा आयोजना हुने उक्त फाइनल खेल ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ। यद्यपि, जारी प्रतियोगिताका क्रममा उहाँले निभाएका कतिपय भूमिकाहरूले यसअघि नै ठूलो विवाद समेत निम्त्याइसकेको छ।
यसअघि अन्तिम १६ को चरण सुरु हुननुअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको रातो कार्ड फिर्ता लिन वा निलम्बन खारेज गर्न आग्रह गर्दै राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई सोझै फोन गरेको समाचार बाहिरिएको थियो।
उक्त घटना सार्वजनिक भएपछि खेलको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको थियो। यस्ता विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल खेल मेलाको सङ्ज्ञा दिएका छन्।
उनका अनुसार यस प्रतियोगिताले संयुक्त राज्य अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियतालाई थप उचाइमा पुर्याएको छ। फाइनल खेलमा राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्सको पनि उपस्थिति रहने जनाइएको छ।
यस पटकको विश्वकप फाइनल केवल खेलकुदमा मात्र सीमित नभएर एक महत्त्वपूर्ण कूटनीतिक भेटघाटको थलो समेत बन्ने अपेक्षा गरिएको छ। खेल हेर्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू पनि उपस्थित हुनेछन्।
ट्रम्पले हालै मात्र स्पेनले नेटो अन्तर्गतको रक्षा खर्चसम्बन्धी आफ्नो दायित्व पूरा नगरेको भन्दै कडा आलोचना गरेको पृष्ठभूमिमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यस्तै, प्रतियोगिताका सहआयोजक राष्ट्रहरू मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ।
पछिल्लो समय अमेरिका, क्यानडा र मेक्सिकोबीच व्यापार, आप्रवासन र सुरक्षालगायतका रणनीतिक विषयमा विभिन्न मतभेदहरू देखिँदै आएका छन्। ट्रम्पको आगमनलाई मध्यनजर गर्दै न्यु जर्सीस्थित रंगशाला वरपरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने उनी आउने समयमा रङ्गशाला आसपासको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो-फ्लाइ जोन’ घोषणा गरिनेछ।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको आफ्नो सम्बन्धलाई थप प्रगाढ बनाएका छन्।
उनले विश्वकप र सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक आयोजना गर्ने अधिकार अमेरिकाले प्राप्त गरेको विषयलाई आफ्नो कार्यकालको ठूलो उपलब्धिका रूपमा दाबी गर्दै आएका छन्।
यसअघि न्यु जर्सीमै आयोजित फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरण गरिसकेपछि पनि विजेता टोलीसँगै मञ्चमै बसिरहेको घटनाले निकै चर्चा पाएको थियो। पछि उनले उक्त सक्कली ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरे पनि फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) मात्र भएको स्पष्ट पारेको थियो।