‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोण भुलेर अपवित्र साँठगाँठमा नलागौँ’: नेकपा नेता झलनाथ खनाल

‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोण भुलेर अपवित्र साँठगाँठमा नलागौँ’: नेकपा नेता झलनाथ खनाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरूमा विकसित भइरहेको नयाँ राजनीतिक समीकरणको सन्दर्भलाई लिएर आफ्नो गम्भीर धारणा सार्वजनिक गरेका छन्।

आइतबार एक विशेष वक्तव्य जारी गर्दै नेता खनालले विभिन्न प्रदेश सरकार गठन प्रक्रियामा नेकपा समेत सामेल हुन लागेको भनी भइरहेका चर्चाप्रति संकेत गर्दै यो बेला पार्टी कुनै पनि प्रकारको अपवित्र साँठगाँठमा लाग्न नहुने स्पष्ट पारेका हुन्।

वरिष्ठ नेता खनालले मुलुकको विद्यमान जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरण वा सहकार्यबारे ठोस निर्णय लिनुअघि अनिवार्य रूपमा केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने माग गरेका छन्।

कमिटीको बैठकमा आजको राजनीतिक आवश्यकताका बारेमा विस्तृत र गहन छलफल गरिनुपर्नेमा जोड दिँदै उनले क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभाहरूमा सरकार बनाउने सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरिनुपर्ने धारणा वक्तव्यमा राखेका छन्। संस्थागत निर्णय र वैचारिक धरातल बिना हतारमा गरिने समीकरणले पार्टीलाई गन्तव्यमा नपुर्‍याउने उनको बुझाइ छ।

नेता खनालले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर अघि बढ्छन् कि भन्ने आमजनतामा एक खालको आशा पलाएको स्मरण गराएका छन्।

तर, जनअपेक्षा विपरीत पछिल्लो समय मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविकाका सवाल तथा छिमेकी मुलुकहरूसँगको संवेदनशील कूटनीतिक सम्बन्ध नै खलबलिन थालेको भन्दै उनले विज्ञप्तिमार्फत वर्तमान राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?