रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास, पेट्रोल छर्केर आगो लगाउँदा ३१ प्रतिशत शरीर जलेर गम्भीर

रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास, पेट्रोल छर्केर आगो लगाउँदा ३१ प्रतिशत शरीर जलेर गम्भीर

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका-९ गमरिया टोलका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीका कारण सहनीको घाँटीदेखि तलको भाग र शरीरको करिब ३१.५ प्रतिशत हिस्सा जलेको छ। घटनालगत्तै गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। अस्पतालले बुधबार बिहान करिब ४ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो।

बेटर नेपाल अस्पतालमा प्रारम्भिक उपचार गरिए पनि उनको अवस्था जटिल मोडमा रहेकाले थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल  रिफर गरिएको छ। हाल उनको अवस्था मध्यम तर संवेदनशील रहेको चिकित्सकहरूले जनाएका छन्। युवकले कुन कारणले यस्तो आत्मघाती कदम चालेका हुन् भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

छुटाउनुभयो कि ?