काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ। त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएको थियो। उनको निधनपछि उचित राहत र न्यायको माग गर्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गर्दै आएका थिए।
पीडित परिवारको अडानपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच विभिन्न बुँदामा सहमति जुटेको हो। सहमतिअनुसार सरकारले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसका साथै उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गर्ने र पत्नीलाई रोजगारी उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ।
त्यस्तै, उक्त दुःखद घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने विषयमा दुई पक्षबीच सहमति बनेको छ। यो सहमति जुटेसँगै लामो समयदेखि शव बुझ्न अस्वीकार गर्दै आएका परिवारका सदस्यहरू अन्ततः शव बुझ्न तयार भएका छन्।
यसैबीच, गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीहरू निलम्बनमा पर्ने भएका छन्। पीडित परिवारसँग भएको सहमति अनुसार उक्त दिन घटनास्थलको अग्रभागमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीहरूलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लेखी पठाउने निर्णय भएको छ।
सहमतिको बुँदा नम्बर ३ मा उल्लेख भएअनुसार, घटना घटेको दिन उक्त घटनास्थलको फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिका महानगरीय प्रहरी बलका कर्मचारीहरूलाई पछि छानबिन आयोगको प्रतिवेदन तथा सिफारिस बमोजिम हुने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखी पठाइनेछ।