काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ।
आइतबार झापाबाट काठमाडौँ आइपुगेपछि विमानस्थल परिसरबाटै सुकुमवासी समस्या, देशमा बढेका आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायतका समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने प्रसाईँको पूर्वनिर्धारित कार्यक्रम थियो।
तर, उनी विमानस्थलको आन्तरिक टर्मिनलमा ओर्लनासाथ काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नै सवारीसाधनमा राखेर भक्तपुरस्थित उनको निजी निवास पुर्याएर छाडेको जनाएको छ। यस घटनालगत्तै केही अनलाइन सञ्चारमाध्यमहरूले प्रसाईँ पक्राउ परेको भन्दै समाचार सम्प्रेषण गरेपछि प्रहरीले त्यसको आधिकारिक खण्डन गरेको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। उनले विमानस्थलजस्तो अत्यधिक संवेदनशील र कानुनी रूपमा निषेधित क्षेत्रमा कुनै पनि प्रकारको विरोध वा सम्बोधनका कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि मात्र उनलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा घर पुर्याइएको बताए।
निषेधित क्षेत्रमा हुन लागेको गतिविधि रोक्न सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चालिएको यो कदम पक्राउ नभई केवल सुरक्षा सहजीकरण मात्र भएको प्रहरीको भनाइ छ।