सरकारको सय दिनबारे अहिल्यै बोल्दिनँ, १० दिनपछि विशेष खुलासा गर्छु: दुर्गा प्रसाईं

सरकारको सय दिनबारे अहिल्यै बोल्दिनँ, १० दिनपछि विशेष खुलासा गर्छु: दुर्गा प्रसाईं

जनकपुरधाम । नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकारको सय दिनको समीक्षा गर्ने समय अहिल्यै भइनसकेको टिप्पणी गरेका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सरकारको सय दिने कार्यकालका विषयमा अहिले नै टिप्पणी नगर्ने स्पष्ट पारे।

उनले आगामी १० दिनपछि एउटा भिडियो सार्वजनिक गर्न लागेको जानकारी दिँदै सोही भिडियोमार्फत विशेष खुलासा गर्ने दाबी गरे। विगतको राजनीतिक आन्दोलनतर्फ संकेत गर्दै उनले हिजो सिंहदरबारमा आगो लगाउनेहरू नै आज सत्तामा पुगेको उल्लेख गरे। सत्ताको बागडोर सम्हाल्न पुगेका तिनै शक्तिहरूले मुलुकको समग्र प्रणाली (सिस्टम) नै बिगारेर राखेको गम्भीर आरोप समेत उनले लगाए।

आफ्नो पक्राउ र अदालती प्रक्रियाबारे बोल्दै प्रसाईंले राज्यपक्षबाट आफूलाई बिना कुनै कसुर र आरोप पटक-पटक पक्राउ गर्ने गरिएको गुनासो गरे। यद्यपि, न्यायालयले भने सगरमाथा जस्तै अडिग रहेर आफूलाई सधैं न्याय दिने गरेको र अदालतप्रति आफ्नो पूर्ण भरोसा रहेको उनले बताए।

अर्को प्रसङ्गमा संयोजक प्रसाईंले नेपाली जनताले अब पुरानो पहिचानसहितको 'बुटिक नेपाल' चाहेको धारणा राखे। आजको आवश्यकता धर्म, संस्कृति, मिथिला सभ्यता र राजासहितको नेपाल भएको उनको जिकिर थियो। यसका साथै उनले गरिब र सुकुम्बासीहरूलाई उचित विकल्प नदिई उठिबास लगाउने सरकारको हालको नीतिको कडा शब्दमा विरोध गरे।

छुटाउनुभयो कि ?