काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार यो वृद्धिदर अघिल्लो अर्थात् दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो। समीक्षा अवधिमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन र व्यापार सेवा लगायतका क्षेत्रमा आएको सुधारले समग्र आर्थिक वृद्धिलाई बलियो टेवा पुर्याएको हो।
कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनबाहेक बाँकी १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको छ।
निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन र केही घरेलु वस्तुहरूको उत्पादनमा आएको गिरावटले गर्दा यस त्रैमासिकको वृद्धिदर भने सामान्य अवस्थामै सीमित बन्न पुगेको हो। धनात्मक वृद्धि भएका क्षेत्रहरूमध्ये विद्युत् तथा ग्याससम्बन्धी क्रियाकलापमा सबैभन्दा उच्च २४.८८ प्रतिशतको वृद्धिदर देखिएको छ भने वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ।
नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्याउँदै आएको कृषि क्षेत्रको वृद्धिदर भने यस अवधिमा १.५८ प्रतिशत रहने अनुमान गरिएको छ। यद्यपि, त्रैमासिक तुलनात्मक हिसाबले हेर्दा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक देखिएको छ भने दोस्रो ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेको छ।
त्यस्तै, आवास तथा भोजन क्षेत्र २.३० प्रतिशत, बैंक तथा बीमा १.०७ प्रतिशत र औद्योगिक उत्पादन ०.८३ प्रतिशतले ऋणात्मक रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा तेस्रो त्रैमासमा थप विस्तार भई ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको प्रारम्भिक अनुमान छ।