डोनाल्ड ट्रम्पको दबाबपछि अमेरिकी स्ट्राइकर बालोगुनको प्रतिबन्ध फिफाद्वारा स्थगित

डोनाल्ड ट्रम्पको दबाबपछि अमेरिकी स्ट्राइकर बालोगुनको प्रतिबन्ध फिफाद्वारा स्थगित

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष हस्तक्षेप र दबाबपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी टोलीका प्रमुख स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गरेको छ। अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई व्यक्तिगत रूपमा फोन गरी बालोगुनको प्रतिबन्धबारे पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले यो अप्रत्याशित कदम चालेको हो। यससँगै बालोगुन सोमबार बेल्जियमविरुद्ध हुने विश्वकपको महत्त्वपूर्ण 'राउन्ड अफ १६' को खेल खेल्न योग्य भएका छन्, जसले खेलको सरगर्मी झनै बढाएको छ।

२५ वर्षीय बालोगुनले बोस्निया एन्ड हर्जेगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा टोलीले २–० को जित निकाल्ने क्रममा ६४औँ मिनेटमा रातो कार्ड पाएका थिए, जसका कारण उनी नियमतः स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए। तर फिफाको अनुशासन समितिले आइतबार एक निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ बमोजिम बालोगुनको प्रतिबन्धलाई एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिदिएको छ। जारी प्रतियोगितामा तीन गोल गरिसकेका बालोगुन अमेरिकाका मुख्य हतियार हुन् र उनी मैदान उत्रन पाउनु अमेरिकाका लागि ठूलो राहतको विषय बनेको छ।

फिफाको यस निर्णयलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत खुसी व्यक्त गर्दै सही निर्णय लिएर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद दिएका छन्। तर, यो राजनीतिक हस्तक्षेप र फिफाको निर्णयमाथि अन्तर्राष्ट्रिय फुटबल जगतमा ठूलो विवाद सुरु भएको छ। खेलको प्रतिपक्षी टोली बेल्जियम फुटबल महासंघले फिफाको यो कदमप्रति कडा आपत्ति जनाउँदै अनुशासनसम्बन्धी नियमको गलत व्याख्या गरिएको आरोप लगाएको छ। बेल्जियमले यस निर्णयविरुद्ध उपलब्ध सबै कानुनी विकल्पहरूको अध्ययन गरिरहेको स्पष्ट पारेको छ।

विश्वकपको इतिहासमा अमेरिका र बेल्जियमबीच यसअघि सन् २०१४ को विश्वकपको अन्तिम १६ मा रोमाञ्चक भिडन्त भएको थियो। त्यसबेला अमेरिकी गोलरक्षक टिम हवार्डले ऐतिहासिक १६ वटा बचाउ गरे पनि अतिरिक्त समयमा बेल्जियमले २–१ को जित निकाल्दै अमेरिकालाई घर फर्काएको थियो।

सन् २००२ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने दाउमा रहेको अमेरिका यसपटक बालोगुनको पुनरागमनसँगै २४ वर्ष लामो प्रतीक्षा अन्त्य गर्ने दाउमा छ भने खेलअघि नै फिफाको यो निर्णयले खेल मैदान बाहिरको वातावरणलाई निकै तातो बनाएको छ।

छुटाउनुभयो कि ?