बाढी र पहिरोले देशभरका ७ सडक पूर्ण अवरुद्ध

बाढी र पहिरोले देशभरका ७ सडक पूर्ण अवरुद्ध

काठमाडौं, असार २१ । अविरल वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण आइतबार बिहानसम्म देशभर ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। यस्तै ४ स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ।

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। कास्कीको पोखरा–२२ क्षेत्रमा रहेको सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ।

पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारु गरिएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?