काठमाडौँ, असार १९ । सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन्। सीमा क्षेत्रमा बढ्दो चोरी-तस्करी र राजस्व चुहावटको वास्तविक वस्तुस्थिति बुझ्न उनी शुक्रबार साँझ सुनसरी र मोरङ आइपुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङ कोशी प्रदेशको सुनसरी र मोरङ क्षेत्रमा रहे पनि उनी हाल कुन स्थानमा छन् र उनको कार्यतालिका के छ भन्नेबारे स्थानीय प्रशासनलाई समेत ठोस जानकारी छैन।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री प्रदेशमा आएको कुरा जानकारीमा आए तापनि अहिलेसम्म उनी कहाँ हुनुहुन्छ र कुन-कुन सीमा नाकाको निरीक्षण गर्दै हुनुहुन्छ भन्नेबारे आधिकारिक जानकारी प्राप्त नभएको बताए।
गृहमन्त्रीको यो अप्रत्याशित ‘छड्के’ निरीक्षणले सीमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूमाझ खैलाबैला मच्चाएको छ। केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको आकस्मिक निरीक्षण गरी फर्किएका मन्त्री गुरुङ आज पुनः तराईका संवेदनशील नाकाहरूमा पुगेर स्थलगत वस्तुस्थिति बुझ्न सक्रिय भएका हुन्।