नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा, अब क्यानडासँग भिड्ने

नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा, अब क्यानडासँग भिड्ने

काठमाडौं। उत्तर अफ्रिकी फुटबलको पावरहाउस मोरक्को जारी फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को रोमाञ्चक खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। पेनाल्टी सुटआउटमा मोरक्को ३–२ ले विजयी बन्दै अर्को चरणको यात्रा तय गर्न सफल भयो।

विश्वकपको यस महाभिडन्तमा डच टोली नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिएको थियो। खेलको ७३औँ मिनेटमा कोडी ग्याक्पोले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका थिए।

तर, खेल सकिनै लाग्दा दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका इस्सा डियोपले उत्कृष्ट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र टोलीको संकट टारे। त्यसपछिको अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन सकेन। टाइब्रेकरमा मोरक्कोका तर्फबाट सोफियान रहामी, चेम्सडिन ताल्बी र इस्माइल सैबारीले गोल गरे भने सैबारीको अन्तिम प्रहार निर्णायक बन्यो।

यो जितसँगै फिफा वरीयताको छैटौँ स्थानमा रहेको मोरक्कोले अब क्वाटरफाइनल प्रवेशका लागि आयोजक राष्ट्र क्यानडाको सामना गर्नेछ। क्यानडाले यसअघि नै दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

मोरक्को र क्यानडाबीचको यो रोमाञ्चक भिडन्त आगामी शनिबार टेक्ससको ह्युस्टनस्थित एनआरजी स्टेडियममा हुनेछ। यसअघि सन् २०२२ को कतार विश्वकपको समूह चरणमा पनि यी दुई टोली भिडेका थिए, जहाँ मोरक्को २–१ ले विजयी भएको थियो। ऐतिहासिक रूपमा सन् २०२२ मा सेमिफाइनलसम्म पुगेको मोरक्को र घरेलु दर्शकको बलियो साथ पाएको क्यानडाबीचको आगामी खेल निकै रोचक हुने अनुमान गरिएको छ।

छुटाउनुभयो कि ?