पेलेको ऐतिहासिक स्वर्ण जयन्तीकै दिन ब्राजिलको संकट टारे मार्टिनेलीले, जापानको सपना फेरि अधुरै

पेलेको ऐतिहासिक स्वर्ण जयन्तीकै दिन ब्राजिलको संकट टारे मार्टिनेलीले, जापानको सपना फेरि अधुरै

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयतर्फ धकेलिएको उक्त खेलको अन्तिम समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिलको संकट टारेका हुन् ।

खेलको सुरुवाती नियन्त्रण बलियो बनाएको जापानले २९ औँ मिनेटमा काइसु सानोको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । मिडफिल्डमा ब्राजिलका खेलाडीहरूबाट बल खोस्दै सानोले डि-बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो।

एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै आक्रामक रणनीति अपनायो । ५२ औँ मिनेटमा ब्रुनो गुइमारेसको सशक्त हेडरलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गरे पनि ब्राजिलले दबाब कायमै राख्यो।

अन्ततः ५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासलाई सदुपयोग गर्दै भेट्रान मिडफिल्डर क्यासेमिरोले हेडरमार्फत गोल गरी खेललाई १-१ को बराबरीमा ल्याए। त्यसको दुई मिनेट लगतै जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए, तर उनको प्रहारलाई जापानी किपर सुजुकीले विफल पारिदिए।

निर्धारित समय र थप गरिएको अतिरिक्त समयको खेल सकिनै लाग्दा दोस्रो हाफमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका ग्याब्रिएल मार्टिनेली ब्राजिलका लागि संकटमोचक बने । उनले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट गोल गर्दै ब्राजिलको रोमाञ्चक जित पक्का गरे।

यो पराजयसँगै विश्वकपको नकआउट चरणमा जित निकाल्ने जापानको ऐतिहासिक सपना यस पटक पनि अधुरै बनेको छ भने उसको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।

यसअघि समूह 'सी' मा रहेको ब्राजिल मोरक्कोसँग बराबरी खेल्दै तथा हाइटी र स्कटल्यान्डलाई हराएर नकआउट चरणमा आएको हो भने जापान समूह 'एफ' को उपविजेता बन्दै अन्तिम ३२ मा छनोट भएको थियो । अब ब्राजिलले आइतबार न्युजर्सीको इस्ट रदरफोर्डमा हुने क्वार्टरफाइनल प्रवेशको भिडन्तमा आइभोरी कोस्ट वा नर्वेमध्ये एक टोलीको सामना गर्नेछ ।

सोमबारको यो जित ब्राजिलका लागि ऐतिहासिक रूपमा पनि निकै भावनात्मक र विशेष रह्यो । सन् १९५८ मा आजकै दिन (जुन २९ मा) १७ वर्षीय लिजेन्ड पेलेले दुई गोल गर्दै ब्राजिललाई स्वीडेनविरुद्ध पहिलो पटक विश्वकपको उपाधि दिलाएका थिए।

ब्राजिलले आफ्नो फुटबल इतिहासको सोही स्वर्णिम दिनको वार्षिकोत्सव मनाइरहँदा मैदानमा यो महत्त्वपूर्ण जित दर्ता गरेको हो । यस जितसँगै जापानविरुद्ध खेलिएका १५ खेलमध्ये ब्राजिलले आफ्नो १२ औँ जितको कीर्तिमान समेत थपेको छ।

फुटबल र सांस्कृतिक रूपमा जापान र ब्राजिलबीच निकै पुरानो र गहिरो सम्बन्ध रहिआएको छ, जहाँ जापान बाहिर सबैभन्दा बढी करिब २७ लाख जापानी मूलका मानिसहरू ब्राजिलमा बसोबास गर्छन्।

यी दुई देशको फुटबल सम्बन्धलाई उचाइमा पुर्‍याउन ब्राजिलियन लिजेन्ड जिकोको ठुलो योगदान छ, जो सन् १९९१ मा जापानी क्लब कासिमा एन्ट्लर्सबाट खेल्न जापान पुगेका थिए र उनकै प्रशिक्षणमा जापानले सन् २००६ को विश्वकप समेत खेलेको थियो ।

छुटाउनुभयो कि ?