काठमाडौं। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८३ को अवसरमा कला क्षेत्रका व्यक्तित्वहरूले परम्परागत शैलीमा धान रोप्दै र हिलो खेल्दै असारको सांस्कृतिक उत्सवलाई थप उल्लासमय बनाएका छन्।
सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाइँ उत्सव-२०८३’ मा विभिन्न विधाका कलाकारहरू सहभागी भएका थिए। उनीहरूले खेतको गह्रामै ओर्लिएर धान रोप्ने, हिलो छ्यापाछ्याप गर्ने र मौलिक असारे गीतमा झुम्दै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि ऐक्यबद्धता जनाएका हुन्।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा यो कार्यक्रमको आयोजना गरिएको थियो। रोपाइँ उत्सवमा सहभागी हुँदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिजालले कृषि क्षेत्र नेपालको अर्थतन्त्र र मौलिक संस्कृतिको मुख्य आधार भएको उल्लेख गरे।
उनले यस्ता रचनात्मक कार्यक्रमहरूले पुस्तौँदेखि चल्दै आएको परम्परागत कृषि संस्कृतिको जगलाई संरक्षण गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
नगरप्रमुख रिजालले राष्ट्रिय धान दिवस केवल खेतमा धानको बीउ रोप्ने दिन मात्र नभएर वर्षभरि माटोमा पसिना बगाउने किसानको श्रमको कदर गर्ने, कृषि उत्पादन बढाउन चेतना जगाउने र नेपाली मौलिक पहिचानप्रति सम्मान व्यक्त गर्ने एउटा विशिष्ट अवसर भएको बताए।
उत्सवमा उपस्थित कलाकारहरूले एकातिर श्रम र अर्कोतिर मनोरञ्जनलाई जोड्दै नाचगानसहित यो वर्षको असार १५ लाई उत्सवका रूपमा मनाएका थिए।