काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का बेहोरे पनि समाप्त नभएको दाबी गर्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने उद्घोष गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाए। आफूहरू अहिले लडेको तर नमरेको उल्लेख गर्दै उनले फेरि उठेर प्रतिगमनवादीहरूसँग लड्ने र पराजित गर्ने दृढता व्यक्त गरे। उनले एमालेको विजय अवश्यंभावी रहेको समेत जिकिर गरे।
समारोहमा बोल्दै अध्यक्ष ओलीले जननेता मदन भण्डारीले छोटो जीवनकालमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएर इतिहासलाई प्रभावित पारेको स्मरण गरे।
सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीकै नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा अघि सारिएको र त्यसैको प्रकाशमा पार्टीले सही बाटो लिएको उनले बताए। एमालेका नीतिहरू राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा बिल्कुल सही रहेको दाबी गर्दै उनले पार्टी कुनै विचार वा नीति परिवर्तन गर्नका लागि एकता वा एकीकरणको छलफलमा नरहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले एमालेको मुख्य गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको र त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा बुझ्नुपर्ने विचार राखे। वर्तमान सरकारलाई प्रतिगमनको उपजको संज्ञा दिँदै उनले लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे।
वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीतका गतिविधि गरेको आरोप लगाउँदै उनले यस्ता प्रतिगमनका विरुद्ध एकजुट हुन सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई आह्वान समेत गरे।