काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ। इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउट भिडन्त गर्नेछन्।
आज आइतबार (जुन २८) देखि सुरु हुने यस चरणमा अब हुने एउटै हारले टोलीको विश्वकप यात्रा समाप्त गर्नेछ। नकआउट चरणको उद्घाटन खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन्। यस्तै, दोस्रो खेलमा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ भने पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ. चौथो खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्को भिड्नेछन्।
विश्वकपको नकआउट यात्रा अन्तर्गत असार १४ गते आइतबार र असार १५ गते सोमबार विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन्. जसअनुसार दक्षिण अफ्रिका र क्यानडाबीचको खेल असार १४ गते राति ११:४५ बजे अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम) मा सुरु हुनेछ।
त्यस्तै, जर्मनी र पाराग्वेबीचको भिडन्त असार १५ गते बिहान ३:१५ बजे म्यासाचुसेट्सको बोस्टन स्टेडियम (जिलेट स्टेडियम) मा हुनेछ भने सोही दिन राति ९:४५ बजे ब्राजिल र जापान टेक्ससको ह्युस्टन स्टेडियम (एनआरजी स्टेडियम) मा आमनेसामने हुनेछन्। यसैगरी, नेदरल्यान्ड्स र मोरक्कोबीचको प्रतिस्पर्धा असार १६ गते बिहान १:४५ बजे मेक्सिकोको गुआडालुपेस्थित मोन्टेरे स्टेडियम (इस्टाडियो बीबीभीए) मा खेलाइनेछ।
यसै क्रममा असार १६ गते मंगलबार र असार १७ गते बुधबारका दिन पनि महत्वपूर्ण खेलहरू तय गरिएका छन्. असार १६ गते राति ९:४५ बजे आइभोरी कोस्ट र नर्वेबीच टेक्ससको डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम) मा खेल हुनेछ।
असार १७ गते बिहान १:४५ बजे फ्रान्स र स्वीडेन न्यु जर्सीको न्यु योर्क न्यु जर्सी स्टेडियम (मेटालाइफ स्टेडियम) मा भिड्नेछन् भने सोही दिन बिहान ५:४५ बजे मेक्सिको र इक्वेडरको खेल मेक्सिको सिटी स्टेडियम (इस्टाडियो एस्टेका) मा हुनेछ. त्यसै दिन राति ८:४५ बजे इङ्गल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच जर्जियाको एटलान्टा स्टेडियम (मर्सिडिज–बेन्ज स्टेडियम) मा प्रतिस्पर्धा हुने तय भएको छ।
नकआउट चरणका थप खेलहरू असार १८ गते बिहीबार र असार १९ गते शुक्रबार सञ्चालन हुनेछन्. असार १८ गते बिहान ६:४५ बजे बेल्जियम र सेनेगल वासिङ्टनको सेटल स्टेडियम (लुमेन फिल्ड) मा भिड्नेछन् भने सोही दिन बिहान १०:४५ बजे संयुक्त राज्य अमेरिका र बोस्निया एण्ड हर्जगोभिना क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया स्टेडियम (लेभिस स्टेडियम) मा आमनेसामने हुनेछन्।
असार १८ गते नै राति ९:४५ बजे स्पेन र अस्ट्रियाबीच लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम) मा खेल हुनेछ भने असार १९ गते बिहान २:४५ बजे पोर्चुगल र क्रोएसिया क्यानडाको ओन्टारियोस्थित टोरन्टो स्टेडियम (बीएमओ फिल्ड) मा आमनेसामने हुनेछन्।
यसैगरी, असार १९ गते शुक्रबार र असार २० गते शनिबार यस चरणका अन्तिम खेलहरू खेलाइनेछन्। असार १९ गते बिहान ६:४५ बजे स्विट्जरल्याण्ड र अल्जेरियाबीच ब्रिटिश कोलम्बियाको भ्यानकुभर स्टेडियम (बीसी प्लेस) मा खेल हुनेछ भने सोही दिन राति १०:४५ बजे अष्ट्रेलिया र इजिप्ट डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम) मा भिड्नेछन्।
त्यस्तै, असार २० गते बिहान १:४५ बजे अर्जेन्टिना र केप भर्डे फ्लोरिडाको मियामी स्टेडियम (हार्ड रक स्टेडियम) मा आमनेसामने हुँदा सोही दिन बिहान ५:४५ बजे कोलम्बिया र घानाको खेल मिसौरीको कान्सास सिटी स्टेडियम (एरोहेड स्टेडियम) मा हुनेछ। अब नकआउट चरणमा प्रत्येक खेल निर्णायक हुने भएकाले विजयी टोली अर्को चरणमा प्रवेश गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ।