काठमाडौं। साविक विजेता अर्जेन्टिनाले आफ्नो उच्च साख र बलियो लयलाई कायम राख्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा शानदार प्रवेश गरेको छ। आइतबार बिहान डालास स्टेडियममा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ गोल अन्तरको सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।
जारी विश्वकपको समूह चरणमा अर्जेन्टिनाले सुरुवाती खेलदेखि नै विपक्षी टोलीहरूमाथि पूर्ण नियन्त्रण कायम राख्दै आएको छ। यसअघि आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० को सोझो सेटमा हराएको अर्जेन्टिनाले जोर्डनविरुद्धको खेलमा पनि त्यही आक्रामक लयलाई निरन्तरता दियो।
खेलको सुरुदेखि नै जोर्डनलाई दबाबमा राखेको अर्जेन्टिनाका लागि १९औं मिनेटमा जियोभानी लो सेल्सोले खाता खोलेका थिए। उनले प्रहार गरेको आकर्षक फ्रिकिक सिधै जालीमा चुमेपछि अर्जेन्टिनाले खेलमा सुरुवाती अग्रता लियो। त्यसको केही मिनेटपछि नै अर्थात् खेलको ३१औं मिनेटमा स्ट्राइकर लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए।
पहिलो हाफमा २–० ले पछि परेको जोर्डनले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्यो। खेलको ५५औं मिनेटमा जोर्डनका स्टार खेलाडी मुसा अल-तमारीले एक गोल फर्काउँदै आफ्नो टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए।
तर, खेललाई बराबरीमा ल्याउने जोर्डनको त्यो प्रयास धेरै बेर टिक्न सकेन। दोस्रो हाफमा मैदान प्रवेश गरेका भेट्रान कप्तान लियोनल मेसीले खेलको ८०औं मिनेटमा एक उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। मेसीको यो गोलसँगै जोर्डनको खेलमा कमब्याक गर्ने आशा पूर्ण रूपमा समाप्त भयो। यस सन्तुलित र सानदार विजयसँगै अर्जेन्टिनाले विश्वकपको साविक विजेताका रूपमा उपाधिमाथिको आफ्नो बलियो दाबेदारीलाई पुनः विश्वसामु प्रमाणित गरेको छ।