रामेछाप। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार उल्टो गतिमा चलिरहेको गम्भीर आरोप लगाएका छन्। रामेछापको मन्थलीमा पत्रकार तथा नागरिक अगुवाहरूसँग आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारका नीति र कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका हुन्।
अध्यक्ष घिसिङले पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन र सहुलियत दिनुपर्नेमा सरकारले उल्टै त्यस्ता गाडीमा कर थोपरेर गलत बाटो समातेको टिप्पणी गरे। यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको तयारी जनविरोधी कदम भएको उनको ठहर छ। यो नीति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी घोषणापत्रको समेत विपरीत रहेको दाबी गर्दै उनले करको दर एक प्रतिशत नै किन नहोस्, यो नीतिगत रूपमै गलत भएको तर्क गरे।
वर्तमान सरकारका नीतिहरू श्रमिकमारा रहेको आरोप लगाउँदै उनले श्रमिकहरूको न्यूनतम ज्याला वृद्धि नहुनुले सरकार श्रमजीवी वर्गको पक्षमा नरहेको स्पष्ट हुने बताए। विगतमा बजेट हेरफेरको विवादमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपरेको स्मरण गराउँदै घिसिङले अहिलेका अर्थमन्त्रीले खुल्लमखुल्ला बजेटका दरहरू हेरफेर गरेको कुरा बाहिर आएको दाबी गरे।
सरकारले सर्वसाधारण नागरिकमा आत्मविश्वास जगाउन पूर्ण रूपमा असफल भएको उनले बताए। नागरिकमा राज्यप्रति विश्वास र भरोसा पैदा नगरेसम्म देशमै बसेर केही उद्यम वा काम गरौँ भन्ने सकारात्मक वातावरण बन्न नसक्ने उनको भनाइ थियो।