१० खेलाडीमा सीमित इराकमाथि सेनेगलको ५–० को जित, नकआउट दौड जीवितै

१० खेलाडीमा सीमित इराकमाथि सेनेगलको ५–० को जित, नकआउट दौड जीवितै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५-० गोलको फराकिलो जित दर्ता गरेको छ ।

क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने आफ्नो गणितीय सम्भावनालाई कायमै राखेको हो । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक-एक गोलको योगदान दिए ।

खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इराक १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा सेनेगलले भरपूर उठायो ।

सेनेगलले खेलको चौथो मिनेटमै हबिब डियाराको उत्कृष्ट गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १० खेलाडीमा समेटिएको इराकले रक्षात्मक खेल खेल्दै थप गोल हुन नदिएपछि पहिलो हाफ १-० मा सकिएको थियो ।

तर, दोस्रो हाफमा सेनेगल इराकविरुद्ध पूर्ण रूपमा हाबी भयो र थप चार गोल थप्यो । खेलको ५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए भने ५९औँ र ७१औँ मिनेटमा पापे गुएले लगातार दुई गोल गर्दै टोलीलाई ४-० को सुदृढ स्थितिमा पुर्‍याए । खेल सकिन केही समय बाँकी छँदा ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गरेपछि सेनेगलले ५–० को सानदार जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै समूह 'आई' मा तीन खेलबाट तीन अङ्क जोड्दै सेनेगल तेस्रो स्थानमा रहन सफल भएको छ । फिफा विश्वकप २०२६ को ४८ टोली सहभागी नयाँ संरचना अनुसार १२ वटा समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार वटा तेस्रो स्थानका टोलीहरू पनि नकआउट चरणमा प्रवेश पाउने नियम छ ।

यो जितपछि सेनेगल तेस्रो स्थानमा रहने टोलीहरूको समग्र सूचीमा पाँचौँ स्थानमा उक्लिएको छ, यद्यपि नकआउट चरणमा सुरक्षित हुन उसलाई अब अन्य समूहका खेलहरूको अनुकूल नतिजा कुर्नुपर्नेछ ।

यस समूहबाट फ्रान्सले आफ्ना सबै खेलमा जित निकाल्दै नौ अंकसहित समूह विजेता र नर्वे छ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगिसकेका छन् भने तीनवटै खेल हारेको इराक अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

छुटाउनुभयो कि ?