भेनेजुएलामा शक्तिशाली भूकम्पको विनाश: ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

भेनेजुएलामा शक्तिशाली भूकम्पको विनाश: ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

काराकास।  भेनेजुएलामा गएको विनाशकारी र शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा ३२ जनाले ज्यान गुमाएका छन्। देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पहिलो पटक आधिकारिक विवरण सार्वजनिक गर्दै भूकम्पमा परी अन्य ७०० भन्दा बढी मानिस घाइते भएको पुष्टि गरेकी छन्।

एकपछि अर्को गरी केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पका कारण राजधानी काराकास र आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ।

स्थानीय समयअनुसार बुधबार राष्ट्रिय बिदाको दिन भूकम्प गएका कारण धेरैजसो मानिसहरू घरभित्रै रहेकाले पनि क्षति बढेको अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यस विनाशकारी भूकम्पको प्रकृति र तीव्रतालाई हेर्दै ज्यान गुमाउनेको संख्या १० हजारदेखि १ लाखभन्दा माथिसम्म पुग्न सक्ने उच्च जोखिम रहेको प्रारम्भिक प्रक्षेपण गरेको छ।

विपत्तिका कारण राजधानी काराकासका अधिकांश क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ भने भूमिगत रेल सेवा (मेट्रो) लाई पनि बन्द गरिएको छ। हाल काराकासमा भत्किएका भवनका भग्नावशेषहरू खनेर जीवितै रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

भग्नावशेषभित्र पुरिएका मानिसहरूले उद्धारका लागि गुहार मागिरहेको आवाज सुनिएकाले उद्धारकर्मीहरू निरन्तर प्रयासरत छन्। यस शक्तिशाली भूकम्पको कडा धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म समेत महसुस गरिएको थियो।