रास्वपा बन्दसत्र: ‘नयाँ वा पुरानो नभनी विवेक प्रयोग गरेर मतदान गर्नुस्’ : सभापति लामिछाने

रास्वपा बन्दसत्र: ‘नयाँ वा पुरानो नभनी विवेक प्रयोग गरेर मतदान गर्नुस्’ : सभापति लामिछाने

चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय सदस्य चयनका लागि नयाँ वा पुरानो भन्ने पूर्वाग्रह नराखी आफ्नो मन परेको उम्मेदवारलाई मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले उम्मेदवारहरूलाई मत दिने सवालमा पार्टीले कसैको पक्ष वा विपक्षमा कुनै पनि औपचारिक निर्णय नगरेको प्रस्ट पारे ।

बन्दसत्रका क्रममा सांसद वा मन्त्री भइसकेका व्यक्तिहरूलाई मतदान गर्ने कि नगर्ने भन्नेबारे बजारमा विभिन्न चर्चा सुनेको उल्लेख गर्दै उनले पार्टीभित्र त्यस्तो कुनै छेकबार नरहेको बताए ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै लामिछानेले योग्य ठानेका जुनसुकै व्यक्तिलाई निर्धक्क भएर उम्मेदवारी दिन प्रोत्साहन गरे । पार्टीमा कसलाई भोट दिने र कसलाई नदिने भनेर कुनै पनि प्रकारको उर्दी वा निर्देशन जारी नगरिने भन्दै उनले त्यस्तो प्रवृत्ति रास्वपाको संस्कार र पद्धति विपरीत हुने धारणा राखे ।

उम्मेदवारहरू पार्टी स्थापनाकालदेखि लागेका हुन् वा भर्खरै जोडिएका, अथवा बहालवाला सांसद वा मन्त्री नै किन नहुन्, उनीहरूको मूल्याङ्कन गरेर मतदान गर्ने पूर्ण अधिकार प्रतिनिधिहरूकै जिम्मामा रहेको उनको भनाइ थियो ।

रास्वपाको जारी बन्दसत्रबाट प्रस्तुत प्रतिवेदनहरू पारित भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । सांगठनिक विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ भने त्यसपछि दोस्रो चरणमा पदाधिकारीहरूको चयन गरिनेछ । दोस्रो चरणको पदाधिकारी निर्वाचनमा भने भर्खरै निर्वाचित भएका केन्द्रीय सदस्यहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

धेरै पढिएको

छुटाउनुभयो कि ?