काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह 'आइ' को रोमाञ्चक खेलमा सेनेगललाई पराजित गर्दै नर्वे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नर्वेले सेनेगलमाथि ३–२ गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । नर्वेको यस महत्त्वपूर्ण जितमा स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोलको योगदान दिए । पराजित सेनेगलका तर्फबाट इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलको सुरुआतदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको नर्वेका लागि ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नर्वेले दोस्रो हाफको सुरुमै अग्रता दोब्बर बनायो ।
खेलको ४८ औँ मिनेटमा एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्याए । तर, खेलको ५३ औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्किने संकेत गरे ।
सेनेगलले दबाब बढाउन खोजेको ठीक पाँच मिनेटपछि अर्थात् ५८ औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता ३–१ को अवस्थामा पुर्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल हुन नसक्दा नर्वे विजयी भयो ।
यस जितसँगै समूह 'आइ' मा रहेको नर्वे ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । समान ६ अङ्क नै रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहँदै नर्वेसँगै नकआउट चरणमा पुगेको छ ।
लगातार दुई खेलमा पराजय भोगेका सेनेगल र इराक भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । आजै बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न यसै समूहको अर्को खेलमा फ्रान्सले इराकलाई ३–० गोलअन्तरले सहजै पराजित गर्दै नकआउट चरणको यात्रा तय गरिसकेको छ ।