उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन्। सरकारले राजनीतिक प्रतिशोध साध्नका लागि अलोकतान्त्रिक कदम चालेको आरोप लगाउँदै अध्यक्ष ओलीले यस दमनकारी कदमको पार्टीले डटेर सामना गर्ने स्पष्ट पारेका छन्।

अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।”

अध्यक्ष ओलीले पूर्वनिर्धारित राजनीतिक कार्यतालिका र कार्यक्रमहरू भइरहेका बेला विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर राजनीतिक व्यक्तित्वलाई नियन्त्रणमा लिइएको उल्लेख गर्नुभएको छ। अनुसन्धान वा सोधपुछका अन्य कानुनी विकल्पहरू खुला हुँदाहुँदै सरकारले सस्तो लोकप्रियता (स्टन्ट) र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक यस्तो हर्कत गरेको उनको भनाइ छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्त्याइएको छ। सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियत पूर्वक गिरफ्तार गरिएको छ।”

वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई मिच्दै सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै अध्यक्ष ओलीले यस्ता हर्कतहरू तत्काल रोक्न चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूलाई लक्षित गरी चलाइएका यस्ता निकृष्ट र प्रतिशोधपूर्ण कदमहरू तुरुन्त बन्द नगरिए त्यसको परिणाम सरकारका लागि राम्रो नहुने चेतावनी समेत उनले दिएका छन्।

एमाले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी भइरहेकै बेला सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

छुटाउनुभयो कि ?