काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गतको एक रोमाञ्चक प्रतिस्पर्धामा दुई पटकको पूर्व विश्वविजेता उरुग्वे र केप भर्डेले अंक बाँडेका छन्।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सोमबार सम्पन्न खेलमा केप भर्डेले बलियो उरुग्वेलाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो। यसअघि आफ्नो पहिलो खेलमा पनि उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोकेर सनसनी मच्चाएको केप भर्डेले उरुग्वेविरुद्ध पनि सोही लयलाई कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्यो।
खेलको सुरुवाती समयदेखि नै उरुग्वेलाई दबाबमा राखेको केप भर्डेले २१ औं मिनेटमा अग्रता लिएको थियो. टोलीका लागि केभिन पिनाले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै सुरुवाती सफलता दिलाएका हुन्।
खेलमा एक गोलले पछि परेको उरुग्वेले पहिलो हाफको अन्त्यतिर आक्रामक खेल खेल्दै बराबरी गोल फर्कायो। खेलको ४४ औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले सुन्दर गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए. त्यस लगत्तै पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले अर्को गोल थपेपछि उरुग्वेले पहिलो हाफमै २-१ को महत्त्वपूर्ण अग्रता बनाउन सफल भयो।
दोस्रो हाफमा केप भर्डेले खेलमा फर्कनका लागि निकै संघर्ष गर्यो र उरुग्वेको डिफेन्सको कमजोरीको फाइदा उठायो। खेलको ६१ औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले आकर्षक गोल गर्दै खेललाई पुनः २-२ को रोमाञ्चक बराबरीमा पुर्याए. त्यसपछि खेलको बाँकी समयमा दुवै टोलीबाट गोलका केही राम्रा अवसरहरू सिर्जना भए पनि थप गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो. यो बराबरीसँगै दुवै टोलीले खेलबाट समान एक-एक अंक बाँडेका छन।