काठमाडाैं। गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको भएको निधनबारे सत्यतथ्य बुझ्न गठित छानबिन समितिले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उक्त घटनामा प्रहरीको तर्फबाट कुटपिट वा यातना भएको नदेखिएको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा विश्वकर्मालाई प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक पीडा नदिएको कुरा छानबिन प्रतिवेदनमा उल्लेख भएको स्पष्ट पारे । यसका साथै उनले नेपाल प्रहरीभित्र दलित सेललाई कार्यान्वयनमा ल्याइसकेको समेत जानकारी गराए ।
गृहमन्त्री गुरुङले प्रतिवेदनको निष्कर्षका आधारमा मृतकमाथि कुटपिट भएको नदेखिएको दोहोर्याउँदै यस संवेदनशील विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले यस घटनाका सम्बन्धमा थप नयाँ तथ्य वा विषयहरू प्रकाशमा आएमा पुनः संसद्लाई जानकारी गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनारले मुलुकमा अझै पनि जातका आधारमा गम्भीर विभेद भइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अन्तरजातीय विवाहकै कारण दलित समुदायका युवाहरूको हत्या र कुटपिट भइरहेका घटना बढ्दै गएको तर्फ चासो राख्दै उनले सिन्धुलीको घटनामाथि प्रश्न उठाएका थिए ।
सांसद सुनारले हिरासत कक्षभित्र टेबल वा कुर्सी समेत नभएको अवस्थामा एक थुनुवा कसरी सात फिट माथि पुगेर आत्महत्या गर्न सक्छ भन्दै घटनाको प्रकृतिमाथि गम्भीर आशंका व्यक्त गरेका थिए । सोही बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाएका थिए ।