विद्वान अर्थमन्त्रीको शैली अपमानजनक, बजेटले दूरदराज र गरिब देखेन: सांसद ऐन महर

विद्वान अर्थमन्त्रीको शैली अपमानजनक, बजेटले दूरदराज र गरिब देखेन: सांसद ऐन महर

काठमाडौं। नेकपा (एमाले) का सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति घोर असन्तुष्टि व्यक्त गर्दै यसले आम जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान शक्तिशाली सरकारबाट मुलुकको धराशायी आर्थिक र सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि परिणाम ठ्याक्कै उल्टो आएको टिप्पणी गरे।

आफूले विद्वान अर्थमन्त्रीप्रति उच्च आशा र भरोसा राखेको भए पनि बजेट सार्वजनिक भएपछि संसद् र आम नागरिक निराश हुनुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।

संसद्‌मा बोल्दै सांसद महरले अर्थमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत कडा प्रश्न उठाएका छन्। अर्थमन्त्रीलाई विगतमा टेलिभिजनमा देख्दा र उनका वक्तव्यहरू सुन्दा देशका लागि केही ठोस काम गर्छन् भन्ने लागेको भए पनि बजेटको सार बिल्कुलै चित्तबुझ्दो नभएको उनले प्रस्ट पारे।

बजेटमा समेटिएका कमजोर विषयवस्तुभन्दा पनि अर्थमन्त्रीको अहंकारी र हेपाहा शैलीले आफूहरूलाई बढी गम्भीर बनाएको उनले उल्लेख गरे। एकजना विद्वानमा हुनुपर्ने शालीन स्वभाव र शैली अर्थमन्त्रीमा नदेखिएको टिप्पणी गर्दै उनले अर्थमन्त्री प्रतिपक्षलाई होच्याउने र अपमान गर्ने गरी संसद्‌मा प्रस्तुत हुनु दुःखद भएको बताए।

उनले वर्तमान बजेटले देशको यथार्थ धरातल र दूरदराजका क्षेत्रलाई समेट्न पूर्ण रूपमा असफल भएको दाबी गरे। बजेटले गरिब, विपन्न समुदाय, महिला, बालबालिका, दलित र लामो समयदेखि राज्यको मूल प्रवाहबाट पछाडि पारिएका वर्गका वास्तविक आवश्यकतालाई पूर्ण रूपमा नजरअन्दाज गरेको उनको आरोप छ।

बजेट जनपक्षीय हुनुको साटो निकै विभेदकारी, गैरजिम्मेवार र हावादारी तवरले ल्याइएको टिप्पणी गर्दै सचेतक महरले यसले जनताको मत र भावनाको घोर अपमान गरेको भन्दै अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए।

छुटाउनुभयो कि ?