अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्नका लागि विदेशिनै पर्ने बाध्यतालाई सरकारले चिर्दै जाने र त्यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट भइसकेको बताएका छन्।
काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै उनले युवा पलायनको बाध्यता अन्त्य गर्न बजेटमार्फत जग बसाल्ने काम सुरु गरिएको र आगामी पाँच वर्षभित्र यसलाई एउटा ठोस निष्कर्षमा पुर्याइने स्पष्ट पारे। विगत डेढ-दुई दशकदेखि नेपाली युवाहरूमा विदेश जानैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको स्मरण गराउँदै उनले सरकारको यो प्रयास र योजनालाई गहिराइबाट बुझ्नका लागि बजेट अध्ययन गर्न र यसको कार्यान्वयनको दिशालाई नियाल्न आग्रह गरे।
देशभरबाट सहभागी भएका युवा उद्यमीहरू माझ बोल्दै अर्थमन्त्री डा. वाग्लेले नयाँ बजेटले देश निर्माणको नयाँ बाटो पहिल्याएको दाबी गरे। उनका अनुसार करको दरहरूमा गरिएको कटौती, बक्यौताको उल्झनमा अल्झिएका उद्यमी तथा व्यवसायीहरूका लागि ल्याइएको छुटको सहुलियत, सरकारी प्रशासनको तीव्र डिजिटलाइजेसन र सुशासनका एजेन्डाहरूले समग्र मुलुकलाई नयाँ दिशा दिनेछन्।
युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्नकै लागि बजेटमा एक लाख रुपैयाँसम्म कमाउने युवाहरूलाई करको झन्झटबाट पूर्ण मुक्ति दिइएको जानकारी गराउँदै उनले करको अन्योलमा फसेका उद्योगी व्यवसायीहरूलाई नयाँ शिराबाट काम सुरु गर्न सहुलियतपूर्ण घोषणाहरू ल्याइएकाले त्यसको भरपूर फाइदा उठाउन आह्वान गरे।
बजेट निर्माणको समयमा युवाहरूको उद्यमशील सोच र योजनाहरूलाई व्यापक रूपमा फैलाउने उद्देश्य राखेर धेरै गृहकार्य गरिएको र सोही अनुरूपका प्रभावकारी कार्यक्रमहरू घोषणा गरिएको समेत उनले बताए।