करका दर हेरफेरको सूचना चुहाएको आरोप : अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

करका दर हेरफेरको सूचना चुहाएको आरोप : अर्थमन्त्री वाग्लेमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको अत्यन्तै संवेदनशील सूचना चुहाएको गम्भीर आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वार्षिक बजेट औपचारिक रूपमा घोषणा हुनुपूर्व नै निश्चित स्वार्थ समूहलाई फाइदा पुग्ने गरी करका दरहरू हेरफेर गरिएको विषय साधारण गल्ती नभई देशविरुद्धको गम्भीर अपराध र राजद्रोह भएको दाबी गरे।

उनले यस प्रकरणमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनका लागि एक उच्चस्तरीय र निष्पक्ष छानबिन समितिको आवश्यकता रहेकोमा जोड दिए।

संसद्‍मा आफ्नो भनाइ राख्ने क्रममा सांसद शाहीले विगतका ठूला आर्थिक र राजनीतिक घोटालाहरूमा दोषी आफैँले छानबिन गर्ने नाटक रच्ने र अन्ततः आफैँलाई चोख्याएर सफाइ दिने विकृत प्रवृत्ति मौलाएको भन्दै कडा आपत्ति जनाए।

यस्तै वाक्क लाग्दा र गैरजिम्मेवार राजनीतिक घटनाक्रमहरूका कारण नै आम नागरिकमा राज्य संयन्त्रप्रति चरम निराशा पैदा भएको उनको भनाइ थियो।

उनले थप चेतावनी दिँदै पछिल्लो समय देशमा देखिएको जेन-जी (नयाँ) पुस्ताको आक्रोश र आन्दोलनको मुख्य कारण पनि यस्तै खालका बेथितिहरू भएको उल्लेख गर्नुभयो। अबका दिनमा पुरानै शैली र प्रवृत्ति नदोहोर्‍याउन उहाँले संसद्‍मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।

छुटाउनुभयो कि ?