काठमाडौं । मुलुकमा बृहत् राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ ‘नागरिक बचाउ महाअभियान नेपाल’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच नयाँ राजनीतिक दल निर्माण गर्ने सहमति भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच दुर्गा प्रसाईँको अध्यक्षतामा नयाँ राजनीतिक दल गठन गर्ने गरी दुई पक्षबीच औपचारिक सहमति भएको हो।
सहमति पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्इंले समसामयिक राष्ट्रिय विषय, आगामी सहकार्य तथा राजनीतिक एकताबारे आफ्नो धारणा सार्वजनिक गरे। सो क्रममा उनले नेपालका प्रमुख राजनीतिक दलहरू तथा तिनका शीर्ष नेताहरूमाथि तीव्र आक्रोश पोखे।
विगतमा आफूले पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याएर दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता गराएको स्मरण गर्दै प्रसाईंले त्यसबाट देशले राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको बाटो समात्ने अपेक्षा गरे पनि त्यो भ्रम साबित भएको बताए। नेताहरूमाथि स्वार्थ केन्द्रित राजनीतिको आरोप लगाउँदै उनले भने, “मैले हिजोका दिनमा माओवादीका प्रचण्ड र एमालेका खड्क प्रसाद ओली अर्थात् केपी ओलीलाई राखेर मिलाएको थिएँ। दुई कम्युनिस्ट पार्टी एक भयो भने देशले निकास पाउँछ, नेपाली जनताले सुख, शान्ति र अमनचयनको श्वास फेर्छन् भन्ने ठूलो आशा गरेको थिएँ। तर त्यस्तो भएन। दुवै दलाल र व्यापारी निस्किए। देशमा कम्युनिस्ट नै रहेनछ, खाली कमाउने मात्र रहेछन्।”
प्रसाईंले नेपाली कांग्रेसमाथि पनि कडा कटाक्ष गर्दै उक्त पार्टी सामन्तवादी प्रवृत्तिको क्लब जस्तो मात्र भएको टिप्पणी गरे। वर्तमान राजनीतिक दलहरूबाट देशको विकास र निकास सम्भव नरहेको निष्कर्ष सुनाउँदै उनले भने, “कांग्रेसको त कुरै छाडिदिऊँ, उसको जातै त्यस्तै हो। कांग्रेस पार्टी भनेको सामन्तेहरूको पार्टी हो, क्लब जस्तो हो। कहिले महिला घुमाउने, दारु खाने, तास खेल्ने भनेको कांग्रेसको रगतमै पर्छ। कांग्रेसलाई गाली गर्नु बेकार हो। तर त्यो प्रवृत्ति अहिले कम्युनिस्टमा सरेर उनीहरू पनि बिग्रिए।”
मुलुकमा राजसंस्था पुनस्र्थापनाका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रसाईंले झापाको मेची किनारसम्म पूर्वराजालाई लैजाने क्रममा प्रमुख राजनीतिक दलहरूबाट मात्र नभई राप्रपाबाट समेत अवरोध भएको गम्भीर आरोप लगाए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राप्रपाले धर्म र राजसंस्थाको मुद्दालाई केवल चुनावी लाभका लागि मात्र प्रयोग गर्ने गरेको आरोप लगाए। उनले थपे, “यिनीहरूबाट देश बन्दैन भनेर मैले महाराजधिराजलाई पाँच पटक प्रयास गरेर झापाको मेची किनारमा लिएर जाँदै गर्दाखेरि सबैभन्दा ठूलो धोका कांग्रेस, एमाले र माओवादीले गर्नु त ठीकै हो, राप्रपाका राजेन्द्र लिङ्देनले समेत गर्नुभयो। राप्रपा भनेको समय आएपछि चुनावको बेला धर्म र राजा बेच्ने, भोट लिने र संसदमा पुग्ने, त्यति काम मात्र हो।”
आफ्नो अभियानका क्रममा पटक–पटक भौतिक आक्रमण, तीव्र विरोध र राज्यपक्षबाट कानुनी कारबाहीको सामना गर्नुपरिरहेको गुनासो पनि प्रसाईंले गरे। आफू हालसम्म १४ पटक जेल बसिसकेको दाबी गर्दै उनले विभिन्न शक्ति केन्द्रहरूले आफूलाई निरन्तर निसाना बनाइरहेको बताए। पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नाम उल्लेख गर्दै उनले आफूविरुद्ध नियोजित कदमहरू चालिएको जिकिर गरे।
आफू अझै पनि उत्तिकै प्रभावशाली रहेको दाबी गर्दै उनले भने, “अगाडि बढ्दै गर्दा हामीलाई पटक–पटक प्रहार गरियो। धावा बोलियो, कालो मोसो दलियो। म १४ पटक त जेल बसेँ। केपी ओलीले मात्र होइन, सुशीला कार्की र अहिले आएर बालेनले पनि हाल्यो। सबैभन्दा ठूलो लक्ष्य के हो भने दुर्गा प्रसाईंलाई पक्राउ नगरिकन केही हुँदैन। उनीहरूको डर नै दुर्गा प्रसाईं हो, अरू कोही होइन।” प्रसाईंले आफ्नो गिरफ्तारीलाई केही पक्षहरूले प्रमुख लक्ष्य बनाए पनि राष्ट्र र नागरिक बचाउने आफ्नो महाअभियान र अब बन्ने नयाँ दल नयाँ वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उद्घोष गरे।