काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहलाई जथाभावी नबोल्न र केटाकेटीपन नदेखाउन कडा चेतावनी दिएका छन्।
बुधबारदेखि काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको आरोप लगाए।
गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति ओलीले तीव्र आक्रोश पोखे।
"नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा? बालेनले देशद्रोही अभिव्यक्ति दिए। यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून्।" - केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले
'संसद्को नियमावली समेत पालना भएन'
अध्यक्ष ओलीले प्रधानमन्त्री बालेनले संसद्को स्थापित नियम र कार्यविधिलाई समेत लत्याएको आरोप लगाए। बालेनले संसदीय नियमावलीको पालना नगरी अचानक आएर 'बोल्छु' भन्दै राष्ट्रघाती कुरा गरेको र यस्तो हर्कत कुनै पनि हालतमा मान्य नहुने ओलीको भनाइ थियो।
प्रधानमन्त्रीले भारतसँगको सीमा विवाद समाधानका लागि बेलायत सरकारलाई तेस्रो पक्षका रूपमा खबर गरिएको भनी दिएको बयानको पनि ओलीले कडा विरोध गरे। अरू देशलाई नेपालको सीमा विवादमा यसरी जोड्न आवश्यक नभएको उनले स्पष्ट पारे।
'मासुभात' भन्दै समर्थन गर्नेहरूमाथि व्यङ्ग्य
अध्यक्ष ओलीले प्रधानमन्त्रीको राष्ट्रहितविपरीतको अभिव्यक्तिलाई पनि आँखा चिम्लेर समर्थन गर्ने प्रवृत्तिको आलोचना गरे। विगतमा राजनीतिक दलका कार्यकर्ताहरूलाई 'मासुभात' को संज्ञा दिएर अपमान गर्नेहरू नै अहिले अन्धभक्त बनेको उनले टिप्पणी गरे।
"हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रूपमा बेइज्जती र अपमान गरिन्थ्यो," ओलीले भने, "तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई मासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ। यो त मासुभातलाई पनि माथ खुवाउने शैली भयो।"