काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी प्रतिनिधि सभामा दिएको बयानलाई खनालले 'खतरनाक, गलत र राष्ट्रविरोधी' को संज्ञा दिएका हुन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारत दुवैतर्फबाट सीमा मिचिएको दाबी गरेका थिए। बालेनको सोही अभिव्यक्तिलाई लिएर नेता खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा आपत्ति जनाएका हुन्।
"विदेशीको चाकडी र ३ करोड नेपालीको भावनामा कुठाराघात"
पूर्वप्रधानमन्त्री खनालले नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध लड्दै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको उल्लेख गरेका छन्।
"हामी अहिले पनि देशमाथि भइरहेको अतिक्रमण विरुद्ध संघर्षरत छौँ। यस्तो अवस्थामा सीमा मिचिएको गम्भीर मुद्दालाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो," खनालले लेखेका छन्, "प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभयो? यसले देशभित्र र बाहिर रहेका ३ करोड नेपालीको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात गरेको छ।"
प्रधानमन्त्रीको राजीनामा र माफीको माग
नेता खनालले यस्तो संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति मुलुकको कार्यकारी प्रमुख बन्न अयोग्य हुने टिप्पणी समेत गरे। उनले लेखेका छन्, "राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन।"
खनालले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान राखेका छन्। यदि माफी नमागेमा सम्पूर्ण देशभक्त जनता र शक्तिहरूलाई यसको विरोध र भर्त्सना गर्न उनले आह्वान गरेका छन्। साथै, सो विवादित वक्तव्यलाई संसदको रेकर्डबाट तत्काल हटाउन (एक्सपन्ज गर्न) खनालले सभामुखसमक्ष आग्रह समेत गरेका छन्।
के भनेका थिए प्रधानमन्त्री बालेनले?
आइतबार प्रतिनिधि सभामा सांसदहरूसँगको सवालजवाफका क्रममा प्रधानमन्त्री शाहले भनेका थिए:
"तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ— भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर मात्रै थाहा पायौँ। त्यही भएर दुवै देशले अध्ययन गरेर, हामीले मिचेका छौँ वा उहाँहरूले मिच्नुभएको छ, के छ... त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ।"
प्रधानमन्त्री शाहले सीमा अतिक्रमणको यो विषयमा आफूले बेलायत (इङ्ल्यान्ड) सरकारसँग समेत कुराकानी गरेको सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ।