काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको कडा आलोचना गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यो बजेट गरिब जनताको हितमा नरहेको र यसले देशको निजी क्षेत्रलाई पूर्ण रूपमा धराशायी बनाउने दाबी गरे। बजेट केवल धनी वर्गलाई मात्र पोस्ने गरी लक्षित रहेको उनको आरोप छ।
विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) प्रति आक्रामक रूपमा प्रस्तुत हुँदै प्रसाईंले भने, "गरिब जनताले उपचार पाउने अस्पताल र शिक्षा लिने विद्यालयमा भ्याट लगाउनु राज्यको अपराध हो। सरकार योजनाबद्ध रूपमा निजी क्षेत्रलाई सिध्याउन लागिपरेको छ।" उनले आफ्ना संस्थाहरूले कुल बिरामीमध्ये १० प्रतिशतलाई निःशुल्क सेवा दिँदै आएको स्मरण गराउँदै राज्यले यस्ता लोककल्याणकारी सुविधाहरू खोस्न नहुने तर्क गरे।
आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले कडा आक्रोश पोखे। प्रसाईंले भने, "मेरो हस्पिटलमा लास र बिरामीबाट पैसा उठाएर म सरकारलाई भ्याट बुझाउँदिनँ, बरु हस्पिटल नै बन्द गरिदिन्छु।"
कर्मचारी र सुरक्षाकर्मीको न्यून तलब वृद्धिको विषय उठाउँदै उनले महिनाको जम्मा २८ हजार रुपैयाँले अहिलेको महँगीमा एउटा गतिलो सामानसमेत किन्न नसकिने अवस्था रहेको बताए। देशको आम्दानी र २१ खर्बको बजेटको आकारबीच ठूलो खाडल रहेको भन्दै उनले सरकारको राजस्व संकलन क्षमता र खर्च व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाए।
पत्रकार सम्मेलनकै क्रममा प्रसाईंले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै सुकुम्बासी बस्ती हटाउने अभियानको समेत आलोचना गरे। खोला किनार र सार्वजनिक जग्गामा बस्दै आएका भूमिहीन तथा विपन्न नागरिकहरूको विकल्पविना आवास भत्काइएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। सरकारले देशको वास्तविक धरातल नबुझी अव्यावहारिक आर्थिक योजना ल्याएको प्रसाईंको निष्कर्ष छ।