हेटौँडा। बागमती प्रदेश सरकारले आगामी जेठ १५ गते पर्ने गणतन्त्र दिवसलाई भव्य र रचनात्मक रूपमा मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजकत्वमा ४३ सदस्यीय ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा जेठ ११ गते मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बैठकले उक्त समिति गठन गर्दै प्रदेशभर चार दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो ।
गठित उच्चस्तरीय मूल समारोह समितिमा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभाका विपक्षी दलका नेता, उपसभामुख, मुख्यन्यायाधिवक्ता, विभिन्न प्रादेशिक आयोगका पदाधिकारीहरू, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरू र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी भने बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई दिइएको छ ।
जेठ १३ देखि १६ गतेसम्म विविध कार्यक्रम, तीन दिन दीपावली गरिने
बैठकको निर्णय अनुसार बागमती प्रदेशभर जेठ १३ गतेदेखि १६ गतेसम्म चार दिनसम्म सरकारी तथा सार्वजनिक स्तरमा विभिन्न चेतनामूलक र रचनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
विशेष गरी जेठ १४, १५ र १६ गते गरी तीन दिनसम्म साँझको समयमा प्रदेशस्थित सम्पूर्ण सरकारी कार्यालयहरू, सार्वजनिक निकायहरू, संघसंस्थाका कार्यालयहरूका साथै आम नागरिकहरूलाई आ–आफ्नो घरघरमा हर्षोल्लासका साथ दीपावली गर्न प्रदेश सरकारले विशेष आह्वान समेत गरेको छ ।
राजनीतिक परिवर्तनको ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने उद्देश्यले यो वर्षको गणतन्त्र दिवसलाई नागरिक स्तरसम्मै पुर्याउने गरी कार्यक्रमको रूपरेखा तयार पारिएको समितिले जनाएको छ ।