चुनावी समीक्षाका लागि एमालेद्वारा कार्यदल गठन, केन्द्रीय कार्यालय बल्खुमै फर्किने

चुनावी समीक्षाका लागि एमालेद्वारा कार्यदल गठन, केन्द्रीय कार्यालय बल्खुमै फर्किने

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सुम्पेको छ।

आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गर्दै एमालेले केन्द्रीय सदस्यहरूलाई स्थानीय तहकेन्द्रित र जनसंगठनको इञ्चार्जको भूमिका दिने गरी कार्यविभाजन तयार पारेको हो। अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत उक्त प्रस्तावमाथि व्यापक छलफल भएको थियो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले प्रस्तावमाथि आएका रचनात्मक सुझावहरूलाई समेटेर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने स्पष्ट पारे।

परिमार्जित प्रस्तावलाई अध्यक्ष ओलीले अन्तिम रूप दिएपछि पार्टीको तल्लो तहसम्म सर्कुलर पठाइने निर्णय भएको छ। तीन दिनसम्म चलेको सो महत्त्वपूर्ण बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र मजबुत एकता कायम राख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई विशेष आग्रहसमेत गरेका थिए।

बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षा लगायतका सांगठनिक र राजनीतिक विषयमा गहन अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सो कार्यदललाई एक महिनाभित्र आफ्नो विस्तृत सुझावसहितको प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ।

उपमहासचिव भट्टका अनुसार यस कार्यदलमा पार्टीका शीर्ष नेताहरूलाई समावेश गरिएको छ, जसमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल रहेका छन्। यसका साथै देशका आठवटै प्रदेशका इञ्चार्जहरूलाई पनि यस कार्यदलको सदस्यका रूपमा जिम्मेवारी तोकिएको छ।

यसैगरी, एमाले सचिवालय बैठकले लामो समयदेखि थाती रहेको पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई पनि टुंगाे लगाएको छ। विसं २०७२ को विनाशकारी भूकम्पबाट बल्खुस्थित पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि एमालेले हालसम्म विभिन्न स्थानमा अस्थायी रूपमा कार्यालय सञ्चालन गर्दै आएको थियो।

अब भने मदननगर बल्खुमा रहेको पार्टीको आफ्नै स्वामित्वको जग्गामा सुविधासम्पन्न केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय भएको नेता भट्टले जानकारी दिए।

सचिवालय बैठक सफलतापूर्वक सम्पन्न भएसँगै एमालेले आगामी सांगठनिक कार्यदिशा र योजनाहरूमाथि थप छलफल गर्न आगामी असार दोस्रो साता पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ।

छुटाउनुभयो कि ?