बागमती। लामो समयदेखि गम्भीर आर्थिक र व्यवस्थापकीय सङ्कटसँग जुध्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्थलगत निरीक्षण गरेकी छिन्।
पछिल्लो समय कुनै बेला बन्द हुने र कुनै बेला आंशिक सञ्चालन हुने नियति भोग्दै आएको मुलुककै ऐतिहासिक उद्योगको वर्तमान अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षण गर्नुका साथै व्यवस्थापन पक्ष र कर्मचारीहरूसँग सघन छलफल समेत गरेकी छिन्।
उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले राज्यको ठूलो लगानी रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद् भएको बताउँदै सरकार विगतदेखि बन्द रहेका देशका सबै सार्वजनिक उद्योगहरूलाई पुनः सञ्चालन गर्ने ठोस तयारीमा रहेको स्पष्ट पारिन्।
“हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र नाफामूलक रूपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा मन्त्रालयले गम्भीरतापूर्वक प्राविधिक अध्ययन गरिरहेको छ”, मन्त्री यादवले भनिन्, “थुप्रै निजी सिमेन्ट उद्योगहरू चौबिसै घण्टा नियमित सञ्चालन हुने र नाफा कमाउने, तर सरकारी स्वामित्वको सिमेन्ट उद्योग सधैँ बन्द भइरहने यो असाध्यै विडम्बनापूर्ण कुरा हो। सरकारले हेटौँडा सिमेन्टको यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ, छिट्टै सबै गाँठो फुकाएर नियमित सञ्चालनको वातावरण बनाउँछौँ।”
उद्योग बन्द हुँदा रोजगारीमात्र नगुमी देशको समग्र आर्थिक अवस्था र उत्पादनशीलतामा समेत गम्भीर असर पर्ने मन्त्री यादवको भनाइ थियो। उनले सरकार एक्लैले मात्र चाहेर उद्योग नियमित चल्न नसक्ने भएकाले यसमा उद्योगको व्यवस्थापन र कर्मचारीहरूको पनि त्यत्तिकै इमानदार सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
छलफलका क्रममा हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले उद्योगका मेसिनरी उपकरणहरू अत्यधिक पुराना र जीर्ण भएकाले समय–समयमा बिग्रिने तथा चरम आर्थिक सङ्कटका कारण कोइलालगायतका अत्यावश्यक कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग पूर्ण रूपमा ठप्प भएको जानकारी गराए। मेसिनको मर्मतसम्भार गरेर समय–समयमा थोरै भए पनि सिमेन्ट उत्पादन गर्दै आएकामा पछिल्लो समय वर्किङ क्यापिटल (कार्यशील पूँजी) को अभावले उद्योग बन्द गर्नुपरेको बाध्यता उनले सुनाए।
निमित्त महाप्रबन्धक साहले उद्योगको आर्थिक अवस्था कतिसम्म जर्जर भइसकेको छ भने यहाँ कार्यरत कर्मचारीहरूलाई विगत ११ महिनादेखि तलबभत्ता समेत उपलब्ध गराउन नसकिएको कडुवा यथार्थ मन्त्रीसमक्ष पोखे।
यसका साथै कच्चा पदार्थ आपूर्तिकर्ताको पुरानो ठूलो बक्यौता तिर्न नसकेको र नेपाल विद्युत प्राधिकरणको बिजुली महसुल भुक्तानी गर्न नसक्दा थप संकट चुलिएको उनले अवगत गराए। सरकारले तत्काल देखिएको यो आर्थिक समस्या र ऋणको भारलाई सम्बोधन गरिदिए उद्योगलाई पुनः नियमित सञ्चालनको लयमा फर्काउन सकिने व्यवस्थापनको दाबी छ।
नेपालको औद्योगिक इतिहासमा विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यस उद्योगले विसं २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। चार दशकभन्दा पुरानो भइसकेका कारण उद्योगका उद्योगधन्दा र उपकरणहरू कामै नलाग्ने गरी पुराना भइसकेकाले अब नयाँ प्रविधि (रोटरी क्लिन) मा नगई उद्योगले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने प्राविधिकहरूको निष्कर्ष छ।