मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जको होटलबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जको होटलबाट पक्राउ

काठमाडौँ । विवादित मेडिकल व्यवसायी तथा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल' का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साको वीरगञ्जस्थित दियोलो होटलमा बसिरहेका उनलाई प्रहरी टोलीले सोमबार साँझ नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गर्ने क्रममा टोलीले 'माथिको आदेश' भन्दै होटलको कोठाबाटै उठाएको थियो। जिल्ला प्रहरी कार्यालय र उच्च प्रहरी स्रोतले प्रसाईं पक्राउ परेको तथ्यलाई पुष्टि गरे पनि उनलाई कुन मुद्दा वा कुन कसुर अन्तर्गत पक्राउ गरिएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गर्न अहिलेसम्म आनाकानी गरिरहेका छन्।

मङ्गलवार वीरगञ्जमा आयोजना हुने आफ्नो महाअभियानको विशेष कार्यक्रममा सहभागी हुन प्रसाईं सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। सिमरा विमानस्थलमा ओर्लेलगत्तै उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चर्को आलोचना गरेका थिए।

समसामयिक राजनीतिक परिस्थिति र सांसदहरूमाथि विभिन्न गम्भीर टिप्पणी गरेको केही घण्टामै प्रसाईं होटलबाटै पक्राउ परेपछि कतिपयले यसलाई राजनीतिक प्रतिशोधको रूपमा समेत अर्थ्याएका छन्। प्रहरीले भने उनलाई कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?