काठमाडौं। घरेलु मैदान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको रोमाञ्चक भिडन्तमा नेपालले बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको मध्यम लक्ष्यलाई नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३८ दशमलव १ ओभरमा मात्र चार विकेट गुमाएर सफलतापूर्वक पछ्यायो। यो जितसँगै नेपालले ग्लोबल क्वालिफायरमा छनोट हुने र एकदिवसीय मान्यता जोगाउने आफ्नो सम्भावनालाई थप मजबुत बनाएको छ।
नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा कप्तान रोहित पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्दै सानदार ब्याटिङ गरे। कप्तान रोहितले ९८ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७४ रनको कप्तानी इनिङ्स खेले भने उनलाई बलियो साथ दिएका इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ५५ रनको योगदान दिए। यसैगरी ओपनर आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २८ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले दुई तथा ब्रान्डन म्याकमुलनले एक विकेट लिए पनि नेपाली ब्याटरहरूलाई रोक्न त्यो पर्याप्त हुन सकेन।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड नेपाली बलरहरूको कसिलो बलिङ र धारिलो आक्रमणका अगाडि टिक्न नसकी ३९ दशमलव १ ओभरमा १ सय ९४ रनमै अलआउट भएको थियो।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा छ चौका र छ छक्काको मद्दतले सर्वाधिक ७३ रन बनाएका थिए। त्यस्तै माइकल इङ्ग्लिसले ५१ रन, जर्ज मुन्सीले २१ रन र मार्क वाटले २० रन जोडेका थिए। स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे। दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले पनि समान एक–एक विकेट बाँडे।
यो महत्त्वपूर्ण जितसँगै विभिन्न आठ राष्ट्र सहभागी रहेको लिग–२ को अङ्क तालिकामा नेपाल दुई स्थान माथि उक्लिन सफल भएको छ। नेपाल अहिले २२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा सुरक्षित भएको छ, जसले ओडिआई मान्यता जोगाउने शीर्ष छ को लक्ष्यलाई बलियो बनाएको छ। यता नेपालसँग स्तब्ध बनेको स्कटल्यान्ड भने पराजित भए पनि कुल ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।