काठमाडाैं। सरकारले समस्याग्रस्त घोषणा गरिएका सहकारीका साना बचतकर्ताहरूको रोक्का रहेको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीनवटा विभिन्न सहकारीका कुल ३ सय ७८ जना साना बचतकर्ताहरूको रकम फिर्ता गरेको हो।
समितिका अनुसार आज पहिलो दिन कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सेभिङका ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। आज पहिलो दिन थोरै बचत भएकाहरूलाई प्राथमिकता दिएर रकम वितरण गरिए पनि अबका दिनमा क्रमशः बचतकर्ताको मौज्दात रकमका आधारमा वर्गीकरण गर्दै रकम फिर्ता गरिने समितिले प्रस्ट पारेको छ।
व्यवस्थापन समितिको तथ्याङ्क अनुसार हालसम्म समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको कुल ४६ अर्ब रुपैयाँभन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने दायित्व रहेको छ।
तीमध्ये अधिकांश सङ्ख्या साना बचतकर्ताहरूको रहेको छ। समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत भएकाहरूलाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। कुल ७६ हजार पीडित बचतकर्ताहरूमध्ये पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्नेहरूको सङ्ख्या जम्मा १८ हजार मात्र रहेको र बाँकी सबै साना बचतकर्ताकै वर्गमा पर्ने समितिले जनाएको छ।
बचत फिर्ता कार्यक्रमबारे जानकारी दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्नका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली प्रक्रियालाई समेत तीव्र पारिएको बताउनुभएको छ।
मन्त्री रावलका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्ने कडा नीति लिएपछि अहिले ऋणीहरू धमाधम ऋण चुक्ता गर्न आउन थालेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी ऋण असुली भइसकेको छ। समितिले आगामी दिनमा ऋणीहरूबाट बक्यौता रकम असुल गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने दुवै कार्यलाई सँगसँगै तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।