काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज जेठ ३ गते आइतबार बिहान सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले जननेता मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको गहिरो अनुभूति हुने उल्लेख गरेका हुन्।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा एमालेका तत्कालीन शीर्ष नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो। सोही ऐतिहासिक र दुःखद सन्दर्भलाई स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पुराना घाउहरूको दुखाइ र अभाव अझ गहिरिँदै गएको बताए।
जननेता भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा सबै भएको उल्लेख गर्दै ओलीले जीवराज आश्रितलाई एक कुशल सङ्गठक र मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जननेताका रूपमा चित्रण गरेका छन्।
अध्यक्ष ओलीले भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद' (जबज) को वैचारिक विरासतले नै आफूहरूलाई निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको स्पष्ट पारेका छन्। 'जनताको बहुदलीय जनवाद विचारलाई युगअनुरूप मौलिक परिष्कार दिने यथार्थको धरातलमा उभिएको विचार हो, यो कुनै एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन,' ओलीले आफ्नो सन्देशमा भरेका छन्।
जबजकै मार्गचित्रका आधारमा पार्टीले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अघि बढाएको र पछिल्लो दशकमा यसले मानवीय तथा भौतिक पूर्वाधारको विकासमा स्पष्ट परिवर्तन ल्याएको दाबी समेत उनले गरेका छन्।
मदन-आश्रित लगायत आन्दोलनका कैयौँ योद्धाहरू आज शारीरिक रूपमा साथमा नभए पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा सधैँ दीपस्तम्भझैँ मार्गदर्शक रहने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भण्डारी र आश्रितप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।