कुशल भुर्तेलको १२० रनको अविजित इनिङ: अमेरिकाले दिएको लक्ष्य नेपालले ३६ ओभरमै भेट्टायो

कुशल भुर्तेलको १२० रनको अविजित इनिङ: अमेरिकाले दिएको लक्ष्य नेपालले ३६ ओभरमै भेट्टायो

काठमाडौं। ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकीय इनिङको मद्दतले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा खेलिएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। अमेरिकाले प्रस्तुत गरेको १ सय ९६ रनको मध्यम लक्ष्यलाई नेपालले मात्र ३६ ओभर ४ बलमा केवल १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नेपालको यो जितसँगै घरेलु दर्शकमाझ खुसीयाली छाएको छ।

नेपाललाई सहज जित दिलाउने क्रममा ओपनिङ ब्याटर कुशल भुर्तेलले आक्रामक र परिपक्व ब्याटिङको नमुना प्रस्तुत गरे। उनले १ सय १७ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतमा १ सय २० रनको अविजित शतकीय इनिङ खेले। उनलाई अर्का ओपनर आसिफ शेखले बलियो साथ दिए। कुशल र आसिफबीच पहिलो विकेटका लागि १ सय ४५ रनको उत्कृष्ट शतकीय साझेदारी भएको थियो, जसले नेपालको जितको बलियो आधार खडा गर्‍यो। आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भएपछि मैदान छिरेका इसान पाण्डे २९ बलमा १६ रन बनाउँदै कुशलसँगै क्रिजमा अविजित रहे। अमेरिकाका बलर मोहम्मद मोहसिनले मात्र नेपालको एकमात्र विकेट लिन सके।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिका ४३ ओभर ३ बलमा १ सय ९५ रनमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ८९ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए। स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्‍याएका थिए। शेहान ५२ बलमा ५० रन बनाएर आउट भए। खेलमा बलियो बन्दै गएको यो शतकीय साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ब्रेक लगाएका थिए।

१ सय २२ रन जोड्दा सम्म मात्र १ विकेट गुमाएर बलियो स्थितिमा रहेको अमेरिका त्यसपछि भने नेपाली बलरहरू सामु पूर्ण रूपमा धराशायी बन्यो। नेपाली बलरहरू खेलमा हाबी भएपछि अमेरिकी ब्याटरहरूले अर्को कुनै ठूलो साझेदारी गर्न सकेनन्। अमेरिकाका मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन जोड्नु बाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १ रनमा आउट भए भने मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमै पेभेलियन फर्किए। शौरभ नेत्रभाल्कर शून्य रनमा अविजित रहे।

बलिङतर्फ नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। उनलाई साथ दिँदै सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक–एक विकेट चट्काए। अमेरिकामाथि सानदार जित निकालेको नेपालले अब आफ्नो तेस्रो खेल आगामी सोमबार स्कटल्याण्डसँग खेल्ने तय भएको छ।

छुटाउनुभयो कि ?