काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टि–ट्वान्टी अलराउन्डरतर्फ आफ्नो बलियो पकड कायम राखेका छन्।
नयाँ वरियताअनुसार दीपेन्द्र २४५ रेटिङ अङ्कसहित विश्वको चौथो स्थानमा यथावत रहन सफल भएका हुन्। यस विधामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा छन् भने भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्।
टि–ट्वान्टीमा मात्र नभई एकदिवसीय (ओडिआई) क्रिकेटको वरियतामा पनि दीपेन्द्रले उल्लेख्य सुधार गरेका छन्। अलराउन्डरतर्फ तीन स्थान उक्लिँदै उनी १५३ रेटिङ अङ्कसहित २८औँ स्थानमा पुगेका छन्।
त्यस्तै, एकदिवसीय ब्याटिङतर्फ पनि उनले दुई स्थान सुधार गर्दै शीर्ष १०० भित्र (९९औँ स्थानमा) आफ्नो नाम सुरक्षित गरेका छन्। नेपालका अर्का भरपर्दा ब्याटर आसिफ शेखले भने एकदिवसीय ब्याटिङ वरियतामा १३ स्थानको छलाङ मार्दै ९३औँ स्थान ओगट्न सफल भएका छन्।
अन्य नेपाली खेलाडीहरूको हकमा भने मिश्रित नतिजा देखिएको छ। एकदिवसीय अलराउन्डरतर्फ करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन्। नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको पछिल्लो प्रदर्शनका कारण विश्व वरियतामा उनीहरूको उपस्थिति थप मजबुत बन्दै गएको देखिन्छ।