काठमाडौं।नेपालको जलविद्युत् उत्पादन र प्रसारण पूर्वाधारमा उल्लेख्य सुधार आएसँगै मुलुकको कूल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकहरूले सञ्चालन गरेका आयोजनाहरूबाट यो सफलता प्राप्त भएको हो। यो क्षमतामा हाल परीक्षणका क्रममा रहेका आयोजना र वैकल्पिक ऊर्जाका केही स्रोतहरूलाई समावेश गरिएको छैन।
उत्पादन र आगामी लक्ष्य
मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको कूल जडित क्षमता ४ हजार ५०० मेगावाट नाघ्ने प्रक्षेपण गरेको छ। हाल ३ हजार मेगावाट क्षमताका विभिन्न आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने अन्य ३ हजार मेगावाट क्षमताकै आयोजनाहरू निर्माणको अन्तिम तयारीमा रहेका छन्। यसले आगामी केही वर्षभित्रै नेपालको ऊर्जा उत्पादनमा ठूलो बढोत्तरी हुने संकेत गरेको छ।
प्रसारण लाइन र सबस्टेसनको विस्तार
ऊर्जा उत्पादनसँगै प्रसारण प्रणालीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। यसैगरी, १४ हजार ३२३ एमभिए क्षमताका ठूला सबस्टेसनहरू र ३३ केभी क्षमताका ८ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३०८ एमभिए क्षमताका साना सबस्टेसनहरू सञ्चालनमा आइसकेका छन्।
चुहावट नियन्त्रण र खपतको अवस्था
नेपाल विद्युत् प्राधिकरणको सक्रियता र प्राविधिक स्तरोन्नतिका कारण विद्युत् चुहावट उल्लेख्य रूपमा घटेर १२.५ प्रतिशतमा सीमित भएको छ। सबस्टेसनको क्षमता विस्तार र आधुनिक प्रविधिको प्रयोगमार्फत यसलाई अझै घटाउने लक्ष्य राखिएको छ। यता नागरिकको जीवनस्तर र औद्योगिक विकाससँगै प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ४५० किलोवाट घण्टा पुगेको छ। हाल ९९ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण ग्रिड र वैकल्पिक ऊर्जामार्फत बिजुलीको पहुँच पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
आयात-निर्यात र वैकल्पिक ऊर्जा
नेपालले पछिल्लो समय विद्युत् निर्यातमा पनि राम्रो प्रगति गरेको छ। हालसम्म २ हजार ९१८ गिगावाट प्रतिघण्टा विद्युत् निर्यात भएको छ भने सुक्खा मौसमको माग धान्न ५९० गिगावाट घण्टा विद्युत् आयात गरिएको छ। ऊर्जा मिश्रण (Energy Mix) लाई ध्यानमा राख्दै सौर्य विद्युत्को क्षमता ६२.७ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट बिजुली उत्पादन भइरहेको छ।
सिँचाइको अवस्था
ऊर्जासँगै सिँचाइ क्षेत्रमा पनि सुधार देखिएको छ। देशभरका १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। यद्यपि, सिँचाइयोग्य जमिनमध्ये ५ लाख ३२ हजार ९० हेक्टरमा मात्रै वर्षभरी सिँचाइ सेवा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। बाह्रै महिना सिँचाइ सुविधा पुर्याउन सरकारले ठूला र बहुउद्देश्यीय आयोजनाहरूलाई अघि बढाउने रणनीति लिएको छ।