बहुमतले निर्णय गर्न मिल्ने अध्यादेशमा सरकारको अडान: राष्ट्रपतिको प्रश्नपछि पनि पुनः सिफारिस गर्ने निर्णय

बहुमतले निर्णय गर्न मिल्ने अध्यादेशमा सरकारको अडान: राष्ट्रपतिको प्रश्नपछि पनि पुनः सिफारिस गर्ने निर्णय

काठमाडौं। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।

केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुन: सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।  बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा पूर्ववत अडानसहित राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गरेका हुन् ।

सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो ।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्‍मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको थियो । यो प्रावधानले बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था कानुनले खण्डित हुन नहुने राष्ट्रपतिको अडान छ ।
गत वर्ष असार २५ मा प्रमाणीकरणका लागि पठाइएको विधेयक सन्देशसहित फिर्ता पठाइएको स्मरण गराउँदै राष्ट्रपतिले मंसिर २ मा मन्त्रिपरिषद्ले ल्याएकोअध्यादेश जारी नभएको अवस्थामा पुनर्विचारका लागि पठाएको शीतल निवासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।