काठमाडौं। नयाँ वर्ष २०८३ को पावन अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा एक विशेष सन्देश जारी गर्दै देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रियता र जनजीविकाका सवालमा गम्भीर हुन सबैलाई आग्रह गरेका छन्।
पूर्वराजा शाहले आफ्नो सन्देशमा देशको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको संकेत गरेका छन्। उनले शासन व्यवस्था केवल सत्ताको हेरफेरमा मात्र केन्द्रित भएको र आम नागरिकले परिवर्तनको महसुस गर्न नपाएको उल्लेख गरे। "राजनीति जनताको सेवाका लागि हुनुपर्नेमा यो केवल शक्ति आर्जनको माध्यम मात्र बनेको छ," सन्देशमा भनिएको छ।
देशको खस्कँदो आर्थिक अवस्था र दैनिक रूपमा हजारौँको संख्यामा विदेशिने युवा जनशक्तिप्रति उनले गम्भीर चासो देखाएका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा राष्ट्रको भविष्य नै संकटमा पर्न सक्ने भन्दै उनले जिम्मेवार निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।
पूर्वराजाले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बाह्य प्रभाव र आन्तरिक कलहका कारण देशको मौलिक पहिचान खतरामा परेको उनको विश्लेषण छ।
विगतमा जस्तै यसपटक पनि उनले देश बचाउनका लागि सबै पक्षबीच एउटा 'साझा सहमति' र 'नयाँ सोच'को आवश्यकता औंल्याएका छन्र। उनले निषेधको राजनीति त्यागेर मुलुकको हितका लागि सबै शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।
पूर्वराजा शाहको यस सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दी र राजनीतिक वितृष्णाका बीच उनले दिएको यो सन्देशले राष्ट्रवादी सोच राख्ने तप्कालाई उत्साहित तुल्याएको देखिन्छ।